अर्मनबासीलाई पुल नहुँदाको पिडा : खोलामै जोखिम मोलेर सवारी वारपार ( फिचर)

  • १० पुष २०७५, मंगलवार
  • धिरन खत्री
  • 2110 पटक पढिएको

म्याग्दी, १० पुस । म्याग्दीको मंगला गाउँपालिका–५ अर्मनमा सडक पुगेको ७ बर्ष बढी भैसक्यो तर स्थानीयबासीले सडक पुगेको अनुभुती गर्न भने अझै पाएका छैनन् । गाउँपालिकाको केन्द्र बावियाचौर हुँदै जिल्ला सदरमुकाम आउने बाटोमा पर्ने म्याग्दी खोलामा वारपारको लागि पुल निर्माण नभएपछि अर्मनबासीको लागि यातायातको सहज पहुँच नपुगेको हो ।अहिले यहाँका स्थानीयलाई खोलामै जोखिम मोलेर सवारी साधन गुडाउनुपर्ने या पैदल हिड्नुपर्ने बाध्यता छ । बावियाचौरको पानाबगर र अर्मनको हाँडेभिरमा म्याग्दी नदीको पानीलाई फिजारेर बनाईएको जोखिमयुक्त बाटो हुँदै सवारी साधन वारपार गराईदै आईएको छ । मोटरसाईकल मंगला क्याम्पस छेउमा रहेको झोलुङ्गे पुल हुँदै तार्ने गरिएपनि अन्य सवारी साधन भने खोलामै गुड्नुपर्छ ।

हिउँदयाममा खोलामा जोखिम मोलेर बोलेरो, ट्याक्टर लगायतका सवारी वारपार हुने भएपनि बर्खायाममा भने कुनैपनि सवारी वारपार नहुने स्थानीय शिशुकल्याण माविका शिक्षक गोविन्द रोकाले बताए । ‘‘ यो बर्ष बर्षातमा यताका बोलेरो जिप चालकहरुले गाउँमै बसेर यातयात सेवा दिए,वडाको सबै टोलबस्तीमा यातयातको सञ्जाल विस्तार भयो तर पुल नहुँदा सडक नभएजस्तै छ’’–रोकाले भने ।अर्मनसंगै बरंजाका स्थानीयले समेत गाउँपालिकाको केन्द्र बावियाचौर पुग्न म्याग्दी खोलामा जोखिम मोलेर सवारी वारपार गराउँदै आएका छन् । कतिपय सवारी साधन घुमाउरोबाटो भएर बेनी हुँदै जाने गर्छन । मोटरेवल पुल अभाबले वारीपारी रहेका बस्ती र गाउँपालिकाको केन्द्र बिच विकटता देखिएको मंगला–५ अर्मनका वडा अध्यक्ष भुपेन्द्र खत्रीले बताए ।

‘‘ हिउँदयाममा केही सवारी साधन खोलाबाटै तर्छन, अन्य समय सवारी आगमन ठप्प जस्तै हुन्छ, खोलामा जोखिम मोलेर वारपार गर्नुपर्ने भएकाले ट्याक्टर र बोलेरोहरुले मात्रै ढुवानीको लागि कहि हदसम्म सुविधा दिन्छन’’– वडा अध्यक्ष खत्रीले भने । खोलामै गुडाएर सवारी वारपार गराउँदा कतिपय सवारी साधन विचमा पुगेर अड्कीन्, पल्टीने समस्याले चिसो पानीमा भिजेरै सवारी साधन तार्नुपर्ने बाध्यता रहेको चालकहरु बताउँछन् ।
                                    पुल बनाउन पहल
बावियाचौरतर्फ माटेबगर र अर्मनतर्फ साठीखण्ड जोड्ने गरि मसानघाटमा मोटरेवल पुल निर्माणको लागि योजना छनौट गरि बिगतदेखि नै पहल भैरहेको छ । अर्मन – बावियाचौर र बरंजाको पखेर– तातोपानी जोड्ने मोटरेपुल निर्माणलाई प्राथमिकतामा राखेर योजना माग गरिएकोमा अहिले यि योजना ठेक्का प्रकृया सकिएर कार्यान्वनय हुने तयारीमा रहेको बुझिन आएको मंगला गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले बताए । अहिले वडा नम्बर ३ र ४ बरंजा र ५ अर्मनलाई गाउँपालिकासंग सिधा सडक सञ्जालले जोड्न ट्याक निर्माणले पूर्णता पाएपनि म्याग्दी खोलामा मोटरेवल पुन नहुँदा सवारी साधन वारपार गर्न सास्ती भएको गाउँपालिका अध्यक्ष रोकाको भनाई छ । ‘‘ यि दुई पुल गाउँपालिकाको गौरबका योजना हुन्, सम्बन्धित निकायसंग समन्वय गरि समयमै योजनालाई सम्पन्न गराउन हाम्रो रचनात्मक भुमिका रहन्छ’’–गाउँपालिका अध्यक्ष रोकाले भने ।
                                   ठेक्का प्रकृया सकियो
सडक डिभिजन कार्यालय बागलुङले यि दुबै ठाउँमा पुल निर्माणको लागि ठेक्का प्रकृया सम्पन्न भएको जनाएको छ । कार्यालयका सब इन्जीनियर अर्जुन गौतमले पखेर–तातोपानी जोड्ने मोटरेवल पुल निर्माणको लागि निर्माण कम्पनी कार्यक्षेत्रमा परिचालन भएर आबश्यक तयारीमा जुटेको जानकारी दिए । उनका अनुसार, बावियाचौर र अर्मन जोड्नको लागि मसानघाटमा निर्माण हुने पुलको समेत ठेक्का प्रकृयाको काम सकिएको छ ।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l