जलजलाबासीलाई वडामै सम्पती तथा भुमिकर तिर्ने सुबिधा

  • ९ पुष २०७५, सोमबार
  • 1731 पटक पढिएको

बेनी ९ पुष । जलजला गाउँपालिका ३ स्थित वडा कार्यालयमा आइतबार व्यवसाय दर्ता र नविकरण, सम्पती तथा भूमिकर संकलनका लागि सञ्चालित घुम्ति शिविर सम्पन्न भएको छ । स्थानीयबासीको सुबिधाका लागि गाउँपालिकाले खटाएको घुम्ती टोलीले दुई दिनसम्म सञ्चालित शिविरबाट १२९ जनाबाट सम्पती तथा भुमिकर वापत एक लाख एक हजार २५४ रुपैयाँ राजस्व संकलन गरेको जनाएको छ ।

यसैगरी २ जनाले व्यवसाय दर्ता गराएका छन् । शनिबार ३० जनाले २४ हजार ८३७ र आइतबार ९९ जनाले ७७ हजार ८३७ रुपैयाँ सम्पति तथा भुमिकर बुझाएका टोलीका संयोजक सम्पति तथा भुमिकर फोकल पर्सन भेषनाथ आचार्यले जानकारी दिनुभयो ।

सोमबारदेखि २ नम्बर वडा कार्यालयमा शिविर सञ्चालन गरिने गाउँपालिकाले जनाएको छ । आचार्यको नेतृत्वमा सूचना प्रविधि अधिकृत मिलन मल्ल, कर्मचारीहरु शुशिला शर्मा ढकाल, अनिताकुमारी शर्मा, उदयचन्द्र श्रेष्ठ, इन्द्रबहादुर खत्रीको टोली परिचालन गरिएको प्रमुख प्रशासकीय अधिकृत मुना अधिकारीले बताउनुभयो ।

सम्बन्धित वडाका जनप्रतिनिधिहरु र सचिवसँगको समन्वयमा एउटा वडामा एक देखि दुई दिनका दरले पुष २२ गतेसम्म घुम्ति टोली परिचालन गरिएको हो । जलजलाले चालू आर्थिक वर्षदेखि गाउँपालिका क्षेत्रमा रहेको जग्गा तथा उक्त जग्गामा बनेका घर, गोठ, टहराको कर लिन सुरु गरेको छ ।

संबैधानिक ब्यवस्था अनुसार गत असारमा भएको गाउँसभाले पारित गरेको सम्पती तथा भुमिकर ब्यवस्थापन कार्यबिधि २०७५ अनुसार विभिन्न मापदण्डको आधारमा वैज्ञानिक रुपमा करको दर निर्धारण गरि कर संकलन सुरु गरेको छ ।

कार्यबिधिले एक लाख सम्मकालाई एक सय, एक लाख एक देखि दुई लाख सम्म २५०, दुइ लाख एक देखि ५ लाखसम्म १८०, पाँच लाख देखि दश लाख सम्म प्रतिलाख ५६, दश लाख १ देखि २० लाख सम्म प्रतिलाख ५५ रुपैयाका दरले कर निर्धारण गरेको छ ।

बीस लाख १ देखि तीस लाख सम्म प्रतिलाख ५४, तीस लाख एक रुपैयाँदेखि चालीस लाख सम्म प्रतिलाख ५३, चालीस लाख एक देखि पचास लाख सम्म प्रतिलाख ५२ र पचास लाख रुपैया भन्दा बढी प्रतिलाख ५१ रुपैयाँका दरले कर तिर्नुपर्ने कार्यबिधीमा उल्लेख छ ।

सम्पति तथा भूमीकरबाट यस वर्ष चालिस लाख रुपैया आम्दानी हुने अनुमान गरिएको छ । जलजलामा छ हजार करदाता रहेका गाउँपालिकाको अनुमान छ । नागरीकको क्षमत्ता अनुसार वैज्ञानिक बिधी अपनाएर कर संकलन गरिने गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण) ले बताउनुभयो ।
बस्ती स्तरमा घरदैलो गरेर गणकहरुले संकलन गरेको सम्पती विवरण गाउँपालिकाले आफ्नै सफ्टवयरको विकास गरि व्यवस्थित र सुरक्षीत अभिलेख राखिएको सूचना प्रबिधि अधिकृत मिलन मल्लले बताउनुभयो ।