बेनी नगरपालिकाको सडकमा पटके कर

  • ८ पुष २०७५, आईतवार
  • 1853 पटक पढिएको

बेनी ८ पुष । बेनी नगरपालिका क्षेत्रमा रहेका सहायक सडकमा गुड्ने सवारी साधनलाई पटके कर लगाइने भएको छ । नगर प्रमुख हरिकुमार श्रेष्ठको अध्यक्षतामा शुक्रबार बसेको ३० औ कार्यपालिका बैठकले बेनी–जोमसोम, बेनी–दरवाङ र बेनी–रत्नेचौर बाहेक नगरपालिकाले निर्माण र मर्मत गरेका सडकबाट पटके कर संकलन गर्ने निर्णय गरेको हो ।ट्याक्सी, जिप र भ्यानलाई दैनिक पचास रुपैयाँ र बस, ट्रक, ट्याक्टर, एक्साभेटर र टेलर लगायत ठूला सवारी साधनलाई दैनिक एक सय रुपैयाँका दरले कर उठाउने निर्णय भएको नगर कार्यपालिकाका प्रवत्ता रामकृष्ण बराइलीले आइतबार पत्रकार भेटघाटमा जानकारी दिएका हुन् ।


पटके करबाट प्राप्त हुने आम्दानी ति सडकको मर्मत र स्तरोन्नती गरि नियमित सवारी साधन सञ्चालनमा परिचालन गरिने भएको छ । बेनी–पात्लेखेत, बेनी–भकिम्ली, रत्नेचौर–भकुण्डे, मंगलाघाट–चुत्रेनी र गलेश्वर– पात्लेखेत सडकमा पटके कर उठाउने निर्णय भएको बेनपा ८ का वडा अध्यक्ष समेत रहनुभएका प्रवत्ता बराइलीले बताए ।
कार्यपालिका बैठकले नगरपालिका अन्तरगत पशु सेवा शाखाले पशु विकास र सेवा सम्बन्धि तयार पारेको तीस लाख रुपैयाँ बराबरको योजना तथा कार्यक्रम स्विकृत गरेको छ । कृषि क्षेत्रमा बिनियोजन भएको २३ लाख रुपैया वडा पालिकासँग समन्वय गरेर स्थानीय आवश्यकता र सम्भावनाको आधारमा कार्यक्रम बनाएर परिचालन गर्ने निर्णय गरेको छ ।
अधुरो अवस्थामा रहेको लभ्लिहिल दारीम्बोट लिफ्ट सिचाईँलाई पूर्णता दिन नगरपालिकाले पाँच लाख रुपैयाँ बिनियोजन गरेको छ । साझेदारी कार्यक्रम अन्तरगत उपभोक्ताहरुलाई पाँच लाख रुपैयाँ बैंक खातामा जम्मा गरिसकेका छन् ।
सम्पती तथा भूमिकरको दर पुर्नमूल्याङकन गर्ने निर्णय अनुमोदनका लागि आगामि नगरसभामा पेश गरिने भएको छ । सामाजिक विकास समितिले गरेको सिफारिसका आधारमा ३० वटा विद्यालयमा शैक्षिक किट बक्स वितरण गरिने भएको छ । उपस्थित पत्रकारले नगरपालिकाको कार्यपालिकाले गरेको निर्णय कार्यान्वयन फितलो रहेको भन्दै कार्यान्वय प्रक्रिया सुधार गर्न आग्रह गरेका थिए ।