हेभी इक्युभमेन्ट प्रयोगलाई व्यवस्थित बनाउन पहल

  • ८ पुष २०७५, आईतवार
  • 1564 पटक पढिएको

 

म्याग्दी, ८ पुष । जिल्लाको अन्नपूर्ण गाउँपालिकाले हेभी इक्युभमेन्टको प्रयोग प्रतिस्पर्धा मार्फत गर्ने नीति लिएको छ । बिहीबार र शुक्रबार गाउँपालिकाको केन्द्र पोखरेबगरमा अध्यक्ष डमबहादुर पुनको अध्यक्षतामा बसेको कार्यपालिका बैठकले एक्साभेटर, ब्याकुलोडर, टिप्पर लगायत निर्माण कार्यमा उपकरण प्रयोग गर्दा अनिवार्य प्रतिस्पर्धा गर्नुपर्ने निर्णय गरेको हो ।

बिशेष गरेर सडक निर्माणका क्रममा हेभी इक्युभमेन्टको अपारदर्शी र अव्यवस्थित रुपमा प्रयोग भएको गुनासो बढेपछि नियमनका लागि गाउँपालिकाले पहल थालेको जनाएको छ । पारदर्शीता, मितब्ययी र दररेटमा एकरुपता कायम गर्न प्रतिस्पर्धा मार्फत हेभी इक्युभमेन्ट प्रयोग गर्ने निर्णय गरिएको कार्यपालिकाका प्रवत्ता कृष्णप्रसाद बरुवालले बताए ।

बीस लाख रुपैयाँ भन्दा बढी बजेट बिनियोजन भएका योजना ठेक्का र बिस लाख रुपैयाँ भन्दा कम बजेटका योजना उपभोक्ता समिति मार्फत कार्यान्वयन गर्ने निर्णय भएको छ । ठेक्का मार्फत कार्यान्वयन गर्ने योजनाको संख्या २५ वटा छ ।

हेभी इक्युभमेन्टलाई करको दायरामा समेत ल्याएको गाउँपालिकाले उनिहरुलाई सूचिकृत गराएको छ । हेभी इक्युभमेन्ट सम्बन्धी काम गर्ने आठ वटा निर्माण कम्पनी सूचिकृत भएका प्रमुख प्रशासकीय अधिकृत सन्तोष पौडेलले बताए ।

प्रतिस्पर्धा बिना हेभी इक्युमेन्टको प्रयोग गरिदा सार्वजनिक खरिद ऐनको प्रतिकुल हुने, उपभोक्ता समितिले कार्यक्षेत्रमा जाने बाटोमा हिडेको समेत भाडा तिर्नुपरेको र करको भार पनि समितिमै पर्दा समस्या देखिएको थियो । भाडादरमा एकरुपता नहुँदा एउटै स्थानमा काम गरेको डोजरको फरक, फरक दरमा भाडा तिर्ने गरेका छन् । पूर्वाधार योजनालाई व्यवस्थित, प्रभावकारी र दिगो बनाउन प्राबिधिक जनशक्ति समेत थप गर्ने निर्णय गरेको छ । एक जना इञ्जिनियर भर्ना गर्ने निर्णय गरेको हो ।

बैशाख मसान्त अघिनै पूर्वाधार योजनाको काम सम्पन्न गर्ने लक्ष्य सहित डिजाइन, इस्टिमेट, उपभोक्ता समिति गठन र सम्झौता तथा ठेक्का प्रक्रिया अघि बढाइएको अध्यक्ष डमबहादुर पुनले बताए । असारे विकासको विकृतिलाई न्युनीकरण गर्न पहल गरिएको उनले बताए ।