मंगलाको मोवाइल एप्स

  • ८ पुष २०७५, आईतवार
  • 1844 पटक पढिएको

बेनी ८ पुष । घरमै बसेर पनि गाउँपालिकाले प्रवाह गर्ने सेवाबारे बुझ्न सकिने गरी म्याग्दीको मंगला गाउँपालिकाले मोबाइल एप्स् सेवा सञ्चालनमा ल्याएको छ ।एन्ड्रोइड मोबाइलको प्लेस्टोर एप्लीकेशनमा गएर मंगला मुनिसिपालिटी टाइप गरी इन्स्टल गरी हेर्न सकिने गाउँपालिकाका सूचना प्रविधि अधिकृत अमृता थापामगरले जानकारी दिईन । सूचना तथा जानकारी र सेवा हेर्न सकिने गरी मोबाइल एप्स् सञ्चालनमा ल्याएको थापाले बताईन ।

एप्स्बाट गाउँपालिकाको सेवा, कार्यक्रम तथा परियोजना, सूचना तथा जानकारी, सुझाव तथा गुनासो, समस्या दर्ता, वडाका विवरण, महत्वपूर्ण स्थानको जानकारी र आपत्कालीन टेलिफोन नम्बरको जानकारी लिन सकिने प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद गौतमले बताए ।

अधिकृत गौतमले सूचनामा गाउँपालिकाबासीको सहज पहुँच स्थापित भई सेवा प्रवाह र विकास गतिबिधिमा नागरिकको चासो, सहभागिता, सक्रियता बढ्ने एवं पारदर्शीता कायम राख्न सहयोग पुग्ने बताएका थिए ।

यसअघि रघुगंगा गाउँपालिकाले पनि मोवाइल एप्स सञ्चालनमा ल्याइसकेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सहयोगमा बेनी नगरपालिका, मालिका, धवलागिरी र अन्नपूर्ण गाउँपालिकाको पनि मोवाइल एप्स बनाउने तयारी भएको छ ।