देविस्थानमा हेलीप्याड निर्माण

  • ६ पुष २०७५, शुक्रबार
  • 2073 पटक पढिएको

बेनी ६ पुष । म्याग्दीको मालिका गाउँपालिका ५ देविस्थानको स्वास्थ्य चौकी नजिकै शुक्रबार हेलीप्याड निर्माण भएको छ । विपद् ब्यवस्थापन र आपतकालीन उद्धारको कामलाई ब्यवस्थित बनाउन ‘एक वार्ड, एक हेलीप्याड’को अवधारणा अनुसार हिदीमा हेलीप्याड निमाण गरिएको हो ।

वडा कार्यालयको सिफारीस अनुसार शुक्रबार देविस्थान पुगेका प्रजीअ लीलाधर अधिकारी, प्रहरी नायव उपरिक्षक बिरबहादुर बुढा, शसस्त्र प्रहरी बलको गलेश्वर स्थित गुल्मका प्रहरी नायव उपरिक्षक अनिल कार्की, मालिका गाउँपालिकाका उपाध्यक्ष खरमाया बिटालु र वडा अध्यक्ष पिपला बुढा लगायत जनप्रतिनिधि, आमा समूह र युवाकल्वका प्रतिनिधिहरुको टोलीले हेलीप्याड निर्माण गरेको हो ।

हेलीप्याडको एच आकार र गोलो घेरा ढलान गरेर पक्कि बनाइएको उपाध्यक्ष बिटालुले बताउनुभयो । यस हेलीप्याडबाट घरीथोक, पन्थोक, जुक्जा, महभिर, रुन्मा क्षेत्रका बासिन्दाहरुलाई पनि सुबिधा पुग्ने जनाइएको छ ।

यसअघि मंगला गाउँपालिका २ हिदी, कुहुँको महभिर, रघुगंगा गाउँपालिका ६ पाखापानी र मालिका गाउँपालिका २ रुममा हेलीप्याड निर्माण भइसकेको छ । अन्य वडामा पनि हेलीप्याड निर्माण स्थल छनौटको काम भइरहेको छ ।

५ वटा भन्दा धेरै हिमाल अवस्थित पहाडी भुगोल भएको म्याग्दीमा विपद्को समयमा तत्काल खोज तथा उद्धार गर्ने राहत उपलब्ध गराउने उद्देश्यले सबै वडामा हेलीप्याड निर्माण गर्ने योजना अघि बढाएको प्रजिअ लीलाधर अधिकारीले बताउनुभयो ।