म्याग्दीकाली सञ्चारको साधारण सभा : सञ्चार माध्यमको सबलीकरणमा स्थानीय तहहरुले ध्यान दिनुपर्नेमा जोड

  • ६ पुष २०७५, शुक्रबार
  • 1969 पटक पढिएको

म्याग्दी, ६ पुस । बेनीमा शुक्रवार आयोजित एक कार्यक्रमका बक्ताहरुले स्थानीय सञ्चार माध्यमहरुको सबलीकरणमा स्थानीय तहका सरकारहरुले ध्यान दिनुपर्नेमा जोड दिएका छन् । म्याग्दीकालि संञ्चार सहकारी संस्थाको ११ औँ बार्षिक साधारण सभामा बोल्ने बक्ताहरुले म्याग्दीमा रहेका सञ्चार माध्ययमहरुले आम नागरिकमा सुचनाको पहुँच पु¥याउन महत्वपूर्ण भुमिका खेलेको भन्दै सञ्चार माध्ययमको संस्थागत विकास र सबलीकरणमा सरोकारवाला निकायबाट सहयोग पुग्नुपर्नेमा जोड दिएका थिए ।

म्याग्दीकाली एफ एम संचालन गरेको म्याग्दीकालि सञ्चार सहकारी संस्थाका अध्यक्ष प्रमोद श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन गर्दै जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्र बहादुर केसीले म्याग्दीमा सञ्चार क्षेत्रले खेलेको भुमिका प्रसंनीय रहेको बताउँदै अझै गुणस्तरीय सेवा प्रवाहमा ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले सेवामुलुक रुपमा सञ्चालमा रहेका सञ्चार क्षेत्रको संस्थागत विकासमा स्थानीय सरकार र सरोकारवालाहरुले समेत ध्यान दिनुपर्ने बताउनुभयो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले आम नागरिकमा सुचना तथा सञ्चारको पहुँच पु¥याउन सञ्चार माध्ययमहरुको भुमिका महत्वपूर्ण रहेको बताउनुभयो । कार्यक्रममा नेकपा एमालेका जिल्ला संयन्त्र सदस्य बालकृष्ण सुवेदी, नेपाली काँग्रेस म्याग्दीका उपसभापती माधव प्रसाद रेग्मी, जिल्ला सहकारी संघ म्याग्दीका अध्यक्ष दिपक कार्कीले सञ्चार क्षेत्रले समयसापेक्ष रुपमा आफ्नो गुणस्तर सुधारमा ध्यान दिनुपर्ने बताउँदै स्थानीय सञ्चार क्षेत्रको संरक्षण गर्नु सबैको दायित्व भएकोमा जोड दिनुभयो ।


कार्यक्रममा म्याग्दी उद्योग बाणिज्य संघका अध्यक्ष उक्तम कर्माचार्य, नेपाल पत्रकार महासंघका उपाध्यक्ष ठाकुर प्रसाद आचार्य, शेयर सदस्य सुवास कुमार श्रेष्ठ लगायतले मन्तव्य राख्नुभएको थियो ।  सहकारीका उपाध्यक्ष विजयकुमार श्रेष्ठको स्वागत र सचिब रामजीप्रसाद सुवेदीको सञ्चालनमा सम्पन्न कार्यक्रममा कोषाध्यक्ष सुविनकुमार श्रेष्ठले आर्थिक र सचिब सुवेदीले प्रगती प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । यस सहकारीले केबल र इन्टरनेट सेवा समेत सञ्चालन गर्दै आएको छ ।