राष्ट्रिय जनजागृति मावि पूर्णगाउँको भवन पुनःनिर्माण

  • ५ पुष २०७५, बिहीबार
  • 2298 पटक पढिएको

बेनी ५ पुष । म्याग्दीको मंगला गाउँपालिका १ पूर्णगाउँमा रहेको राष्ट्रिय जनजागृति माविमा पुनःनिर्माण भएको चार कोठे भवनको बिहीबार उद्घाटन भएको छ ।मंगला गाउँपालिकाको आर्थिक सहयोगमा स्थानीयबासीले श्रमदान गरेर जिर्ण अवस्थाको भवनलाई प्रवलीकरण (रेक्ट्रोफिटीङ) प्रबिधिबाट पुनःनिर्माण गरेका हुन् । गाउँपालिकाको २५ लाख रुपैयाँ अनुदान र स्थानीयबासीको पाँच लाख रुपैयाँ बराबरको श्रमदान तथा सहयोगमा भवन पुनःनिर्माण गरिएको प्रअ टेकबहादुर राम्जालीले जानकारी दिनुभयो ।

जस्तापाटाले छाएको कच्चि अवस्थाको भवनको पुरानै पर्खाललाई प्रयोग गरिएपनि पिल्लर र बिम राखेर ढलान गरि पुनःनिर्माण गरिएको हो । भवन पुनःनिर्माण भएपछि सुरक्षित वातावरणमा सहज रुपमा पठनपाठन सञ्चालन गर्ने वातावरण बनेको छ । कक्षा १० सम्म पठनपाठन हुने विद्यालयमा २०३ जना विद्यार्थी छन् ।भवनको मंगला गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले एक समारोहका बिच उद्घाट्न गर्नुभएको हो । अध्यक्ष रोकाले शैक्षिक गुणस्तर सुधारमा गाउँपालिकाले जोड दिएको बताउँदै शिक्षण बिधिमा परिवर्तन, पूर्वाधारको व्यवस्था, घर र विद्यालयमा पढ्ने वातावरण बनाउन आवश्यक रहेको बताउनुभयो ।

गाउँपालिकाका उपाध्यक्ष सिर्जना केसीले निजी स्रोतबाट सञ्चालित शून्य दरबन्दिका सामुदायिक विद्यालयहरुको सहयोगका लागि चालू आर्थिक वर्षमा पच्चिस लाख रुपैयाँ बिनियोजन गरिएको बताउनुभयो । सो बजेटबाट शून्य दरबन्दिरका विद्यालयमा एक एक जना शिक्षकलाई तलबको व्यवस्था गरिएको बताउनुभयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ताराप्रसाद आचार्य (बाबुराम)को अध्यक्षता, शिक्षक भविदत्त सुवेदीको सञ्चालन र बालकुमारी खत्रीको स्वागत मन्तब्यमा सम्पन्न कार्यक्रममा प्रअ राम्जालीले विद्यालयको बस्तु अवस्थाको बारेमा जानकारी गराउनुभएको थियो । मंगला माविका स्रोत व्यक्ति डेकबहादुर बानियाले पनि शुभकामना मन्तब्य व्यक्त गर्नुभएको थियो ।

सोही अवसरमा मंगला मावि अन्तरगत ४० वटा विद्यालयका प्रअहरुको बैठक पनि राष्ट्रिय जनजागृति माविमै सम्पन्न भएको छ । घुम्ती बैठकमा गत हप्ता शिक्षाविद् विद्यानाथ कोइरालासँग भएको शैक्षिक अन्तरक्रिया कार्यक्रमको समिक्षा गरिएको थियो ।