बुलमा निर्माण भएको गाउँघर क्लिनिक भवन उद्घाटन

  • ५ पुष २०७५, बिहीबार
  • 3045 पटक पढिएको


मराङ ५ पुष । म्याग्दीको धवलागिरी गाउँपालिका ६ मराङको बुलमा निर्माण भएको गाउँघर क्लिनीक भवनको बिहीबार उद्घाटन र हस्तान्तरण गरिएको छ । भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित बुलका बासिन्दालाई सहज रुपमा गाउँमै स्वास्थ्य सेवा उपलब्ध गराउन गुड नेवर्स ईन्टरनेशनलको सहयोगमा कदम म्याग्दीद्धारा सञ्चालित सामुदायिक विकास परियोजनाको सहयोगमा भवन निर्माण भएको हो ।

गुड नेवर्स इन्टरनेशनल नेपालको दश लाख ५० हजार ४८३ रुपैयाँ सहयोग र स्थानीयबासीको चार लाख ८८ हजार ८७१ रुपैयाँ बराबरको श्रमदानमा एक कोठे पक्कि भवन बनाइएको निर्माण समितिका अध्यक्ष नरबहादुर जुक्जालीले जानकारी दिनुभयो ।भवनको उद्घाटन गर्नुहुदै धवलागिरी गाउँपालिकाका उपाध्यक्ष रेशम छन्त्यालले भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा स्वास्थ्य सेवाको पहुँच विस्तारमा जोड दिएको बताउनुभयो । उहाँले स्वास्थ्य संस्था टाढा भएको बस्तीमा सामुदायिक स्वास्थ्य इकाई सञ्चालनको पहल गरिएको बताउनुभयो ।

कार्यक्रममा उपाध्यक्ष छन्त्यालले स्थानीय तहको न्यायीक समितिको उद्देश्य, देवानी र फौजदारी कसुर सम्बन्धि नयाँ कानुनको बारेमा जानकारी गराउनुभयो ।कार्यक्रममा सामुदायिक विकास परियोजनाका जिल्ला संयोजक राजेन्द्रमान लोहार, गाउँपालिकाका शिक्षा शाखाका संयोजक गिरिप्रसाद छन्त्याल, साझेदार गैरसरकारी संस्था कदम म्याग्दीका अध्यक्ष हरिप्रसाद पौडेल र महिला स्वास्थ्य स्वमसेविका लक्ष्मी केसीले मन्तब्य व्यक्त गर्नुभएको थियो ।

सो अवसरमा गाउँघर क्लिनिक भवन निर्माणका लागि एक रोपनी जग्गा उपलब्ध गराउनुभएका नरबहादुर क्षेत्रीलाई सम्मान गरिएको थियो । वडा अध्यक्ष राजाराम सुवेदीको अध्यक्षता, स्थानीय युवा ज्ञानबहादुर गर्बुजाको सञ्चालन र नरबहादुर जुक्जालीको स्वागत मन्तब्यमा कार्यक्रम सम्पन्न भएको थियो ।

भवनमा सामुदायिक स्वास्थ्य इकाई सञ्चालनका लागि स्थानीयबासीले गाउँपालिकामा माग गरेका छन् । इकाई सञ्चालन भएमा बुल र मलम्बार गाउँका डेढ सय घरधुरी लाभान्वित हुने जनाइएको छ ।बुल र मलम्पारका बासिन्दाहरु सामान्य बिरामी पर्दा समेत २ घण्टा भन्दा बढी समय लगाएर मराङ र मल्कवाङ स्थित स्वास्थ्य संस्थामा पुग्न बाध्य छन् । जेष्ठ नागरिक, अशक्त, बालबालिका र गर्भवती महिलाहरुलाई स्वास्थ्य संस्था टाढा हुँदा सहज रुपमा आधारभुत स्वास्थ्य सेवा पाउनबाट बञ्चित भएका छन् ।

स्वास्थ्य संस्थामा उपचारका लागि जाँदा कतिपयलाई पुरै दिन लाग्ने गरेको छ । भिर, जंगल र खोल्साको बाटो हिड्नुपर्दा जोखिम छ ।