म्याग्दीका बीस वटा विद्यालयको भवन पुनःनिर्माण हुने

  • ५ पुष २०७५, बिहीबार
  • सन्ताेष गाैतम
  • 2101 पटक पढिएको

बेनी ४ पुस । यस वर्ष म्याग्दी जिल्लाका बीस वटा सामुदायिक विद्यालयको भवन पुनःनिर्माण हुने भएको छ । तीन वर्षअघिको भुकम्प र बाढी पहिरो लगायत विपद्का कारण भत्किएका र जोखिममा परेका भवनहरुको पुनःनिर्माणका लागि बजेटको व्यवस्थापन भएको हो । राष्ट्रिय पुननिर्माण प्राधिकरण अन्तरगत जिल्ला आयोजना कार्यान्वयन इकाई (अनुदान व्यवस्थापन तथा पूर्वाधार)ले छनौट भएका विद्यालयको भवन पुनःनिर्माणको प्रक्रिया अघि बढाएको छ ।

दश वटा विद्यालयमा चार कोठे, दुई वटामा तीन कोठे र आठ वटामा दुई कोठे भवन पुननिर्माण गरिने इकाईका प्राबिधिक राजकुमार शाहीले जानकारी दिनुभयो । राष्ट्रिय पुननिर्माण प्राधिकरणको आयोजना कार्यान्वयन इकाई अन्र्तगत जिल्ला पुनःनिर्माण सहजिकरण समितिका अध्यक्ष जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्र केसीको अध्यक्षतामा गत असोज दोस्रो साता बेनीमा बसेको बैठकले विद्यालयको नाम सिफारिस गरेको थियो ।

प्राधिकरणको केन्द्रीय इकाईबाट सिफारीस गरिएका विद्यालयको नाम स्वीकृत भएपछि सम्झौता गरेर भवन पुननिर्माण सुरु गर्न लागिएको आयोजना प्रमुख शिवराम गेलालले बताउनुभयो । छनौट भएका विद्यालयका प्रअ र व्यवस्थापन समितिका अध्यक्षहरुलाई अनुशिक्षण गरेर उपभोक्ता समिति गठन गरेर सम्झौताका लागि आउन अनुरोध गरिएको उहाँले बताउनुभयो ।

चार कोठे भवन पुननिर्माण हुने विद्यालयहरुमा रघुगंगा गाउँपालिका ३ पिप्लेको रघुगंगा मावि, कुइनेमंगलेको रितुङ मावि, बेनपा–२ भकुण्डेको अर्जुन मावि, बेनपा–४ सिंगाको धवलागिरी मावि, अन्नपूर्ण गाउँपालिका ८ नांगीको हिमाञ्चल मावि, मंगला गाउँपालिका १ पूर्णगाउँको राष्ट्रिय जनजागृति मावि, बाबियाचौरको मंगला मावि, मालिका गाउँपालिका–२ रुमको राष्ट्रिय मावि, ओखरबोटको ओखरबोट मावि र घवलागिरी गाउँपालिका ३ फलियागाउँको धनजनता मावि रहेका छन् ।

गत भदौ २७ गते रघुगंगा नदीमा आएको बाढीले रितुङ माविको तीन वटा भवनको सात वटा कोठा बगाएपछि त्यहाँका विद्यार्थीहरु टहरामुनी बसेर पढ्दै आएका छन् । चार कोठे भवन पुननिर्माणका लागि बढीमा सत्तरी लाख ४० हजार रुपैयाँ सम्म अनुदान दिइने प्राबिधिक शाहीले बताउनुभयो ।  ढुवानी र दुरीको आधारमा अनुदान तय गरिने भएको छ । टाढाकाले केही बढी र सदरमुकाम नजिकका विद्यालयले कम अनुदान पाउनेछन् । विगतमा सबै ठाउँका विद्यालयलाई समान अनुदान वितरण गरिदा दुर्गम र विकट क्षेत्रका विद्यालयलाई मर्का परेको थियो ।

यसपालीको बजेट बिनियोजनको आधार व्यवहारिक भएकाले भवन पुननिर्माण गर्न सहज हुने धनजनता मावि मुनाका प्रअ पुस्कर भण्डारीले बताउनुभयो । यसैगरी बेनपा ४ तातोपानीको सरस्वती मावि र रघुगंगा गाउँपालिका १ बेगको महादेव माविमा तीन÷तीन कोठे भवन पुननिर्माण हुने भएको छ । तीन कोठे भवन निर्माणका लागि प्राधिकरणले ३५ लाख ८० हजार रुपैयाँ सम्म अनुदान दिने भएको छ । यसैगरी गत साउन अन्तिम साता कालीगण्डकीमा आएको बाढीले बगाएको अन्नपूर्ण गाउँपालिका ४ कोप्चेपानीको धवलागिरी आधारभुत विद्यालय पनि भवन दुई कोठे भवन पुननिर्माण योजनाका लागि छनौट भएको छ ।

दुई कोठे भवन योजना पाउने अन्य विद्यालयहरुमा बेनपा ३ डोलेको मुसुङ आधारभुत, बेनपा ८ कालीपुलको बालमन्दिर आधारभुत, रघुगंगा गाउँपालिका २ भगवतीको देउराली आधारभुत, पाखापानीको अमर मावि, कुइने आधारभुत र मंगला गाउँपालिका १ भरजुलाको बालोदय आधारभुत विद्यालय छन् । दुई कोठे भवनका लागि छनौट भएको धवलागिरी गाउँपालिका ७ मच्छिमको भुमे आधारभुत विद्यालयले जग्गा उपलब्ध नभएको, ढलान गर्न चाहेको तर ट्रस भवन योजना भएकाले योजना फिर्ता गरेपछि सोही वडाको हेम माविलाई दिने निर्णय भएको छ ।
दुई कोठे भवन निर्माणका लागि २३ लाख रुपैयाँ अनुदान दिइने भएको छ । चालू आर्थिक वर्षभित्रनै भवन निर्माण गरिसक्नुपर्नेछ । भवन पुननिर्माणका लागि ४९ वटा विद्यालयको निवेदन परेको थियो । आर्थिक वर्ष २०७३÷७४ मा चार र ७४÷७५ मा सात वटा विद्यालयको कक्षा कोठा भवन पुननिर्माण भएका छन् । भुकम्पका कारण म्याग्दीमा एक सय भन्दा बढी विद्यालयको भवनमा क्षती पुगेको थियो ।

सन्ताेष गाैतम