शिशुको उपचारका लागि बेलायतबाट आर्थिक सहयोग

  • ४ पुष २०७५, बुधबार
  • 2051 पटक पढिएको

बेनी ४ पुष । म्याग्दीको धवलागिरी गाउँपालिका ७ हिलापोखरीकी २२ वर्षीया कमला परियारले जन्माएका तिम्ल्याह शिशूको उपचारका लागि बेलायतबाट एक लाख रुपैयाँ भन्दा बढी आर्थिक सहयोग जुटेको छ । पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचार गराइरहेका कमला र राजु परियारका शिशूहरुको उपचारका लागि हिलापोखरी घर भई हाल बेलायतमा रहनुभएका दुर्गाबहादुर पुनको पहलमा एक लाख तीन हजार २३४ रुपैयाँ सहयोग प्राप्त भएको हो ।

पुनले बेलायतबाट पठाउनु भएको रकम गण्डकी प्रदेशका सांसद बिनोद केसी र पुनका छोरा खुम पुनले बुधबार अस्पतालमै पुगेर हस्तान्तरण गर्नुभएको छ । यसअघि हिलापोखरी स्थित टोल सुधार समितिको पहलमा स्थानीयबासी, विभिन्न संघ संस्था र व्यक्तिहरुबाट एक लाख १५ हजार रुपैयाँ सहयोग जुटेको थियो । परियारले शल्यक्रिया मार्फत मङसिर ११ गते बिहान पोखराको मणिपाल शिक्षण अस्पतालमा दुई छोरा र एक छोरी जन्माएकी थिइन् । एक जना छोराको मृत्यु भइसकेको छ भने अन्य दुई बालबालिकाको स्वास्थ्यमा सुधार भइरहेको छ ।

कमलाको स्वास्थ्य सामान्य रहेपनि शिशूको उपचारका लागि आर्थिक अभावका कारण समस्या भएको छ । छोराको नौ सय र छोरीको तौल आठ सय ग्राम छ । आठ वर्षको हुँदा बुवालाई गुमाएका राजुकी आमा पनि उनी नौ वर्षको हुँदा उनलाई छाडेर दोस्रो बिवाह गरेर गएकी थिइन् । वडा सदस्य नरकुमारी गुरुङले राजुलाई कक्षा १२ सम्म पढाउनुभएको थियो । तीन वर्षअघि कमलासँग बिवाह गरेपछि आफ्नो घरमा बस्न थालेका राजुको पारिवारीक अवस्था कमजोर रहेको टोल सुधार समितिका अध्यक्ष राम्जी मल्लले बताउनुभयो ।