विद्यालय सञ्चालन गर्न महायज्ञ आयोजना

  • ४ पुष २०७५, बुधबार
  • 1840 पटक पढिएको

बेनी १७ मङसिर । म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको जलजला गाउँपालिकाको २ र ३ नम्बर वडामा पर्ने बगरफाँटमा विद्यालय सञ्चालन गर्न महायज्ञ आयोजना गरिएको छ । निजी स्रोतका शिक्षकको तलब, भत्ताको व्यवस्थापन, भौतिक र शैक्षिक गुणस्तरका साथै विद्यालयको तह थप गर्नका लागि आर्थिक स्रोत जुटाउन महायज्ञको आयोजना गरिएको हो ।

पुष १६ देखि २३ गतेसम्म सञ्चालन हुने महायज्ञको तयारीका लागि बगरफाँटबासीहरुको भेलाले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हिराबहादुर बरुवालको अध्यक्षतामा मूल आयोजक समिति गठन गरेको छ । पण्डित कमलनयन गौतमले कथावाचन गर्नुहुने ६७ सदस्यीय महायज्ञ मुल आयोजक समितिको उपाध्यक्षमा मनिषा पुन, सचिवमा मुकुन्द शर्मा र कोषाध्यक्षमा भगवती शर्मा रहनुभएको छ ।

डेढ करोड रुपैयाँ संकलन गरि कोषमा जम्मा गरेर विद्यालय सञ्चालन गर्ने योजना रहेको छ । ३५० घरधुरीको बसोबास रहेको बगरफाँटको एकमात्र उत्त विद्यालयमा हाल कक्षा १ सम्मको पठनपाठन हुन्छ । ३७ जना विद्यार्थी रहेका विद्यालयमा २ जना सरकारी दरबन्दिका बालकक्षा सहयोगी कार्यकर्ता र एक जना निजि स्रोतका शिक्षक छन् । वि.स २०६८ मा विद्यार्थी अभावका कारण बन्द भएको विद्यालय स्थानीयबासीको पहलमा वि.स २०७४ देखि पुन सञ्चालन गरिएको थियो ।

बस्ती विकास हुदै गएको बगरफाँटमा कक्षा १२ सम्म पठनपाठन हुने विद्यालयको आवश्यकता महशसु गरेर तह थप गर्दै लैजाने उद्देश्य अनुसार अघि बढीएको ३ नम्बर वडाका अध्यक्ष देवेन्द्र भण्डारी (रवी)ले बताउनुभयो । यो विद्यालय बगरफाँटको पहिचान भएकाले अभियानलाई सफल बनाउन वडा अध्यक्ष भण्डारी र महायज्ञ मुल आयोजक समितिले आव्हान गरेका छन् ।