महायज्ञमा साढे एघार लाख संकलन

  • ४ पुष २०७५, बुधबार
  • सन्ताेष गाैतम
  • 1305 पटक पढिएको

बेनी ४ पुष । जलजला गाउँपालिका ५ सहस्रकमाय स्थित चन्द्रेश्वर शिवालयमा आयोजित शिवमहापुरण तथा विश्वशान्ति धनधान्याचल ज्ञानमहायज्ञको दोस्रो दिनसम्म साढे ११ लाख रुपैयाँ भन्दा बढी सहयोग जुटेको छ । धार्मिक पर्यटकीय विकासको उद्देश्य राखेर आयोजित महायज्ञको दोस्रो दिनसम्म ११ लाख ६८ हजार ५५ रुपैयाँ संकलन भएको प्रचारप्रसार उपसमितिका सदस्य नविन जिसीले बताउनुभयो । चन्द्रेश्वर शिवालय मन्दिरका संस्थापक मणीभद्र पौडेलका परिवारले एक लाख ११ हजार ११ रुपैयाँ सहयोग गरेर सभानायक बन्नुभएको छ ।

यसैगरी तिलकबहादुर जिसीले ५१ हजार ५५५, संस्थापक मनकुमारी पौडेलको परिवारबाट २५ हजार ५१ रुपैया, जलजला ५ का सुवेदार भिमबहादुर जिसीले १५ हजार ५५५ रुपैयाँ सहयोग गर्नुभएको छ । दोस्रो दिन जलजला ५ को फुलबारी आमा समूहले प्रसादको व्यवस्था गरेका थिए । ओझलमा परेको चन्द्रेश्वर शिवालयको प्रचारप्रसारका साथै नियमित पुजा सञ्चालन र पूर्वाधार निर्माणका लागि आयस्रोत जुटाउने उद्देश्यले महायज्ञको आयोजना गरिएको मुल आयोजक समितिका अध्यक्ष शेरबहादुर खत्रीले बताउनुभयो ।

पुष १२ गतेसम्म सञ्चालन हुने महायज्ञमा पण्डित भिमनाथ पराजुलीले कथावाचन गर्नुभएको छ । महायज्ञमा धार्मिक प्रवचनका साथै पुजापाठ, भजन पनि सञ्चालन हुने जनाइएको छ ।माझफाँट र लेकफाँटको सिमा क्षेत्रमा अवस्थित चन्द्रेश्वर शिवालयमा ऋणी मुनीहरुले तपस्या गरेर ज्ञान आर्जन गरेको किम्बदन्ती छ । इश्वरानन्द, खड्ग, नारायण, नित्यानन्द, रामानन्द, लाल गिरी लगायतका ऋणीहरुले यस स्थानमा तपस्या गरेको जनाइएको छ ।

चन्द्रेश्वर शिवालय १६ रोपनी छ आना क्षेत्रफलमा फैलीएको छ । माझफाँट र लेकफाँटका पौडेल बन्धुहरुले शिवालयलाई जग्गा उपलब्ध गराएका थिए । भिरालो ठाउँमा अवस्थित मन्दिर परिसरमा धर्मशाला पनि छ । बेनी देखि मल्लाज हुदै पैदल हिडेर डेढ घण्टामा पुगीने यस स्थानबाट धौलागिरी हिमाल, बेनी बजार, म्याग्दी र मल्लाज क्षेत्रका बस्तीहरुको रमणीय दृष्य अवलोकन गर्न सकिन्छ ।

सन्ताेष गाैतम