धवलागिरीमा गाउँपालिका स्तरीय शिक्षा समिति गठन

  • ३ पुष २०७५, मंगलवार
  • 1572 पटक पढिएको

बेनी ३ पुष । म्याग्दीको धवलागिरी गाउँपालिकामा मंगलबार स्थानीय तह स्तरीय शिक्षा समिति गठन भएको छ । मुना स्थित गाउँपालिकाको कार्यालयमा अध्यक्ष थमसरा पुनको अध्यक्षतामा बसेको कार्यपालिका बैठकले कार्यपालिकाको सामाजिक विकास समितिका संयोजक समेत रहनुभएका ६ नम्बर वडाका अध्यक्ष राजाराम सुवेदीको अध्यक्षतामा शिक्षा समिति गठन गर्ने निर्णय गरेको हो ।


शिक्षा शाखाका संयोजक सदस्य सचिव रहने समितिको सदस्यहरुमा एक जना कार्यपालिकाले सिफारिस गरेका एक जना, एक जना महिला सदस्य, एक जना दलित महिला सदस्य र दुई जना अन्य रहने जनाइएको छ । बैठकले गाउँपालिकाको सहकारी नियमावली पारित गरेको कार्यपालिकाका प्रवत्ता झकबहादुर छन्त्यालले जानकारी दिनुभयो ।

उहाँका अनुसार पारित भएका कानुनहरु राजपत्रमा प्रकाशित गर्ने निर्णय समेत भएको छ । कार्यपालिका बैठकमा प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले प्रस्तुत गर्नुभएको प्रथम चौमासिकको चालू तथा वित्तिय प्रगति विवरण अनुमोदन गरिएको छ ।

प्रवत्ता छन्त्यालका अनुसार पहिलो चौमासिकको अवधिमा पुजीँगततर्फ ०.५९ प्रतिशत र चालू तर्फ ३९ प्रतिशत बजेट खर्च भएको छ । योजना सम्झौता र कार्यान्वयनलाई तिब्रता दिने निर्णय पनि कार्यपालिकाले गरेको छ ।

यसैगरी गण्डकी प्रदेशमा मुख्यमन्त्रीको उपस्थितीमा माघको पहिलो हप्ता हिउँदे गाउँसभ ागर्ने निर्णय पनि भएको छ । धवलागिरी गाउँपालिकाको सम्भावना र विकासप्रती प्रदेश र संघीय सरकारको ध्यानाकर्षण गराउन मुख्यमन्त्रीलाइनै बोलाएर कार्यक्रम गर्न लागिएको प्रवत्ता छन्त्यालले बताउनुभयो ।

यसैगरी प्रदेश सरकारको होमस्टे सम्बन्धि कार्यक्रममा सिफारिस गर्नका लागि सवै वडामा सम्बन्धित वडा अध्यक्षको संयोजकत्वमा स्वास्थ्य चौकीका प्रमुख सदस्य सचिव रहेको अनुगमन समिति गठन गरिएको छ ।