बेनी नगरपालिकाको सार्वजनिक सुनुवाईः समग्र नगरपालिकालाई विकास र समृद्धितर्फ लैजान सुझाब

  • ३ पुष २०७५, मंगलवार
  • 1920 पटक पढिएको

म्याग्दी, ३ पुस । बेनी नगरपालिकाको सबै वडामा एकिकृत विकास र समृद्धिलाई अघि बढाउन सुझाब आएको छ । चालु आर्थिक बर्ष २०७५/७६ को पहिलो चौमासिकमा नगरपालिका कार्यालय मार्फत सम्पादन भएका कार्यप्रगतिबारे मंगलवार बेनी नगरपालिका– ४ सिंगामा आयोजित सार्वजनिक सुनुवाईमा सहभागीहरुले नगरपालिका क्षेत्रको सबै वडामा एकिकृत विकासको मोडलमा रहेर काम गर्न जनप्रतिनिधिलाई आग्रह गरेका थिए ।

कार्यक्रममा सहभागीहरुले कृषि र उत्पादनमुलक क्षेत्रमा बजेट विनियोजन गर्नुपर्ने, बेनीको कालिपुल क्षेत्रमा रहेको फोहोर र अस्तव्यस्तता हटाउनुपर्ने, तातोपानी कुण्ड संगै धार्मिक र ऐतिहाँसिक स्थलहरुको दिगो संरक्षण र पूर्वाधार निर्माणमा सघाउनुपर्नेमा जोड दिएका थिए । त्यस्तै रामयण पार्क, बेनी– पुलाचौर– डडुवा नमुना सडक लगायतका नगरपालिकाले अघि सारेको गौरबका आयोजनाहरु अल्पत्र परेको , डोजर प्रयोगमा प्रकृया मिचेको, कतिपय जनप्रतिनिधि आफै पूर्वाधार निर्माण योजनामा संलग्न भएको  भन्दै   त्यसतर्फ चासो दिन आग्रह गरेका थिए ।

कार्यक्रममा बोल्दै नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठले समग्र नगरपालिकाको विकास र समृद्धि नै आफुहरुको प्रमुख उदेश्य रहेको बताउँदै योजनाबद्ध विकासको प्रयास भैरहेको बताउनुभयो । उहाँले विकास निर्माण र सेवा प्रवाहमा हुन सक्ने ढिलासुस्ती र अनियमितता रोक्न जनप्रतिनिधि संगै सरोकारवाला र नगरबासी समेत सचेत र सजग बन्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा सहभागीहरुले सोधेका प्रश्नको नगरप्रमुख श्रेष्ठ सहित, प्रमुख प्रशासकिय अधिकृत छबिलाल सुवेदी, वडा नम्बर ४ का वडा अध्यक्ष गोविन्द पौडेल, ५ का वडा अध्यक्ष लक्ष्मण बानियाँ, ७ का वडा अध्यक्ष राजेन्द्र श्रेष्ठ, नगरपालिका इन्जीनियर बिमलरन्जन कार्की लगायतले जबाफ दिनुभएको थियो । कार्यक्रममा बेनी नगरपालिकाका विभिन्न वडाका स्थानीयबासी, शिक्षक, बुद्धिजिवि, अगुवा, कृषक लगायतले नगरपालिका क्षेत्रको शिक्षा, स्वास्थ्य, यातयात, खानेपानी, सिचाई लगायतका क्षेत्रका समस्याहरुबारे समेत नगरपालिका कार्यालयको ध्यानकर्षण गराएका थिए ।

कार्यक्रममा बोल्दै प्रमुख प्रशासकिय अधिकृत सुवेदीले नगरपालिकाबाट प्रवाह हुने सेवा र विकास निर्माण कार्यहरुलाई पारदर्शी र जनउत्तरदायी बनाउनको लागी नगरपालिकाले सार्वजनिक सुनुवाई कार्यक्रम आयोजना गरेको बताउनुभयो । उहाँले सेवा प्रवाहलाई चुस्त बनाउँदै विकास निर्माणलाई प्रभाबकारी कार्यान्व्यनको लागि नगरपालिका लागीपरेको बताउनुभयो ।

नगरप्रमुख श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली काँग्रेस म्याग्दीका उपसभापती माधव प्रसाद रेग्मी, कार्यपालिका सदस्य कृष्णकुमार विश्वकर्मा र म्याग्दी उद्योग बाणिज्य संघका अध्यक्ष उक्तम कर्माचार्यले समेत मन्तव्य राख्नुभएको थियो ।
नगरपालिकाको आयोजना तथा कदम म्याग्दी, संगम म्याग्दी र म्याग्दी मिडिया सोसाईटीको व्यवस्थापन तथा सहजीकरणमा सम्पन्न कार्यक्रममा नगरपालिकाका उपमेयर सञ्जु बरुवालले स्वागत, कदम म्याग्दीका अध्यक्ष हरिप्रसाद पौडेलले सञ्चालन तथा म्याग्दी मिडिया सोसाईटीका उपाध्यक्ष हरिकृष्ण गौतमको सहजीकरणमा कार्यक्रम सम्पन्न भएको थियो ।