स्रोत व्यक्तिको भरमा स्थानीय तहका शिक्षा शाखा

  • ३ पुष २०७५, मंगलवार
  • सन्ताेष गाैतम
  • 1867 पटक पढिएको

बेनी ३ पुष । म्याग्दीका स्थानीय तहका शिक्षा शाखा स्रोत व्यक्तिको भरमा चलेका छन् । दरबन्दि अनुसारका कर्मचारीको व्यवस्था नहुँदा स्थानीय तहको शिक्षा शाखा स्रोत व्यक्तिले धानेका हुन् । स्थानीय तहको शिक्षा शाखामा विद्यालय निरिक्षकको नेतृत्वमा प्राबिधिक सहायक लगायत कर्मचारीको दरबन्दि भएपनि बेनी नगरपालिका बाहेक म्याग्दीका अन्य ५ वटा गाउँपालिकाको शिक्षा शाखाको नेतृत्व स्रोत व्यक्तिहरुले गरेका छन् ।

दरबन्दि अनुसारका कर्मचारीको व्यवस्था नभएपछि कार्यपालिकाको बैठकबाट निर्णय गरेर स्रोत व्यक्तिलाई शिक्षा शाखाको जिम्मेवारी दिइएको रघुगंगा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश थापाले बताउनुभयो । डेढ वर्षसम्म पनि शिक्षा शाखामा कर्मचारीको व्यवस्था नभएपछि मंसिर १८ गतेको कार्यपालिका बैठकले जेष्ठ स्रोत व्यक्तिलाई शाखाको संयोजक र अर्कालाई सहसंयोजकको जिम्मेवारी दिने निर्णय गरेको थियो ।

जस अनुसार अमर मावि पाखापानीका स्रोत व्यक्ति बालकृष्ण उपाध्यायलाई संयोजक र मुक्तिधाम माविका स्रोत व्यक्ति दुतबहादुर गर्बुजालाई सहसंयोजकको जिम्मेवारी दिइएको छ । शाखा स्थापना भएपछि सोमबार शिव आधारभुत विद्यालय बेगमा गाउँपालिकालेनै परिक्षा सञ्चालन गरेर शिक्षक छनौट र अन्तरवार्ता लिएको छ । परिक्षा सञ्चालन, शिक्षक छनौट र अन्तरवार्ताका लागि गाउँपालिकाको सूचना तथा सामाजिक विकास अधिकृत पदम भण्डारीलाई जिम्मेवारी दिइएको थियो ।

बेनी नगरपालिकामा विद्यालय निरिक्षक विश्वप्रकाश रेग्मीले शिक्षा शाखाको नेतृत्व सम्हाल्नुभएको छ । मंगला, मालिका, धवलागिरी र अन्नपूर्ण गाउँपालिकाको शिक्षा शाखामा पनि विद्यालय निरिक्षक नभएपछि स्रोत व्यक्तिको भरमा चलेका छन् । नेपालको संबिधान २०७२को अनुसूचि ८ अन्तरगत स्थानीय तहको अधिकार सूचिभित्र आधारभुत र माध्यमिक शिक्षाको अधिकार स्थानीय तहको हुने उल्लेख गरिएको छ ।

यसैगरी स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ११ को उपदफा २ को ञमा स्थानीय तह भित्रका सामुदायिक तथा संस्थागत विद्यालयको अनुगमन, नियमन र मूल्याङकन गर्ने अधिकार समेत स्थानीय तहलाई दिइएको छ ।

सन्ताेष गाैतम