बेनी–लभ्लीहिल पदमार्ग निर्माण सुरु
- १ पुष २०७५, आईतवार
- कमल खत्री
- 2608 पटक पढिएको
म्याग्दी १ पुस । म्याग्दी सदरमुकाम बेनीबजारदेखि पर्यटकीय स्थल लभ्लीहिल जाने पदमार्ग निर्माण सुरु भएको छ । बेनी नगरपालीका– २ मा रहेको पर्यटकीय स्थल लभ्लीहिलमा जाने पर्यटकहरुको सुविधाको लागि बेनी नगरपालिका, म्याग्दी प्रवासी नेपाली संघ(मोना) र म्याग्दी उद्योग वाणिज्य संघको त्रिपक्षिय साझेदारीमा पदमार्ग निर्माण सुरु गरिएको हो ।
बेनीको हाँडेभिर देखि लभ्लीहिल जोड्ने सो पदमार्गको आईतवारदेखि पूर्वाधार निर्माण सुरु गरिएको म्याग्दी उद्योग बाणिज्य संघका द्धितिय उपाध्यक्ष राजेश शाक्ले जानकारी दिनुभयो । १ दशमलब ७ मिटर चौडाई भएको सो पदमार्ग निर्माणमा ७८ लाख बढी लागत अनुमान गरिएको छ । नगरपालिका, मोना र संघले क्रमश पचास, चालीस र दश प्रतिशत लगानी गर्ने यस पदमार्गलाई आगामी ३ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य लिईएको छ ।
पदमार्गको लागि रेखांकन गरिएको क्षेत्रको झाडी सरसफाइ सुरु गरिएको छ । दुई देखि ३ समुहमा जनशक्ति परिचालन गरेर पदमार्ग निर्माण कार्यलाई तिब्रता दिईने शाक्यले बताउनुभयो । हाँडेभिरदेखि लम्भीहिलसम्म ६ सय ७७ मिटर लामो बाटोमा पक्की ढलान गरिएको पदमार्ग निर्माण हुने संघका अध्यक्ष समेत रहनुभएका पदमार्ग निर्माण समितिका संयोजक उक्तम कर्माचार्यले जानकारी दिनुभयो ।
‘‘ म्याग्दी भ्रमण बर्षको अवसरमा सरकारी, निजी र प्रवासी म्याग्देलीको साझेदारीमा पर्यटन पूर्वाधार निर्माण गर्न लागेका हौँ, पदमार्ग निर्माणपछि सदरमुकाम बेनी संगै लभ्लीहिल क्षेत्रको पर्यटन विकासमा सहयोग पुग्ने अपेक्षा गरेका छौँ’’– अध्यक्ष कर्माचार्यले भन्नुभयो ।
गत भदौमा बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठ, मोनाका पदमार्ग निर्माण समितिका संयोजक समेत रहेका उपाध्यक्ष ओमनारायण जुक्जाली र म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष कर्माचार्यले यस पदमार्गको संयुक्त रुपमा शिलान्यास गर्नुभएको थियो । मोना बेनी लभ्लीहिल पदमार्ग नामाकरण गरिएको यस योजनालाई समयमै सम्पन्न गर्ने गरि काम सुरु भएको जनाईएको छ ।
यो पदमार्ग निर्माणले लभ्लीहिल संगै बेनीको पर्यटन विकासमा महत्वपूर्ण सहयोग पुग्ने नगरप्रमुख श्रेष्ठको भनाई रहेको छ । सदरमुकाम बेनीको दक्षिणी मोहोडाको शिरमा रहेकोे लभ्लीहिलमा गत वर्ष बेनी नगरपालीका र पर्यटन कार्यालयको लगानीमा रेलीङ, प्रतिक्षालय लगायतका पूर्वाधार निर्माण भएको थियो । लभ्लीहिलबाट म्याग्दी नदी र कालीगण्डकी नदीको दोभानमा रहेको बेनीबजार, पर्वतबेनीसँगै म्याग्दी र पर्वतका विभिन्न ग्रामीण गाउँबस्ती, कालीगण्डकीको मनमोहक दृष्य, धौलागिरि हिमालको मनोरम दृष्यलाई एकै अवलोकन गर्न सकिन्छ ।
कमल खत्री
म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l