काफलडाँडामा पूर्व विद्यार्थीद्धारा पाँच लाख रुपैयाँ सहयोग

  • १ पुष २०७५, आईतवार
  • 3575 पटक पढिएको

बेनी १ पुष ।  म्याग्दीको अन्नपूर्ण गाउँपालिका ८ काफलडाँडाका एक व्यक्तिले आफूले शिक्षा हाँसिल गरेको तीन वटा सामुदायिक विद्यालयलाई पाँच लाख रुपैयाँ भन्दा बढी सहयोग गर्नुभएको छ । काफलडाँडाको थपना घर भई हाल हङकङमा बस्दै आउनुभएका देवेन्द्र पुर्जाले तीन वटा विद्यालयलाई चार लाख ९९ हजार ६०५ रुपैयाँ सहयोग गर्नुभएको वडा अध्यक्ष खमबहादुर गर्बुजाले जानकारी दिनुभयो ।

काफलडाँडा आधारभुत विद्यालयलाई तीन लाख ३३ हजार, राम्चेको देउराली आधारभुत विद्यालयलाई एक लाख ११ हजार १०० र जलजला गाउँपालिका १ बाँसखर्कको ज्योतीमण्डल माविलाई पचपन्न हजार ५०५ रुपैयाँ सहयोग गर्नुभएको हो ।

आफ्नो जन्मथलोमा आएका पुर्जाले शनिबार घरमै एक कार्यक्रमको आयोजना गरेर विद्यालयका प्रतिनिधिहरुलाई नगद हस्तान्तरण गर्नुभएको थियो । पुर्जाले काफलडाँडाको सुर्याेदय युवा कल्वलाई ३५ हजार पाँच हजार रुपैयाँ सहयोग गर्नुभएको छ ।

आफूले अध्ययन गरेको विद्यालयको शैक्षिक र भौतिक विकासमा मद्दत पुगोस भनेर सहयोग गरेको पुर्जाले बताउनुभयो । प्राप्त सहयोग निजी स्रोतका शिक्षकको तलबभत्ता, शैक्षिक गतिबिधि र भौतिक पूर्वाधारको क्षेत्रमा परिचालन गरिने विद्यालयहरुले जनाएका छन् ।

पुर्जाले प्रवासमा रहेर पनि आफ्नो जन्मथलोको शैक्षिक, पर्यटन, सांस्कृतिक विकासमा महत्वपूर्ण योगदान गर्नुभएको राम्चेका अगुवा फसबहादुर गर्बुजाले बताउनुभयो । पुर्जाले वि.स २०५० मा काफलडाँडामा पुन समुदायको कुल देवता करवाकेलीको थान निर्माणको अवधारणा अघि सार्नुभएको थियो ।

केही वर्षअघि समुदायले एक करोड रुपैयाँ भन्दा बढी सहयोग जुटाएर करवाकेलीको थान र अन्य पूर्वाधार निर्माण गरिसकेका छन् ।