ताकम कोतमा जब हेलिकप्टर स्टार्ट भएन (फोटो कथा)
- २८ मंसिर २०७५, शुक्रबार
- 5792 पटक पढिएको
म्याग्दी, २८ मंसीर । सुन्दा अचम्म लाग्न सक्छ, म्याग्दीको धौलागिरि गाउँपालिका–७ ताकम कोतमा पुजा नगरेपछि हेलीकप्टरको स्टार्ट नै बन्द भएको छ । शुक्रवार ताकम कोतको पुननिर्माणको शिलान्यास गर्न पुगेको एर डाइनेष्टीको नाईन एन एजेडी हेलीकप्टर फर्कने समयमा स्टार्ट नै भएन् ।
कोतको शिलन्यास गर्न महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममायाँ थापा र प्रतिनिधि सभाका सदस्य भुपेन्द्र बहादुर थापा मन्दिर परिसर तर्फ लागे । उनीहरुलाई लगेर लएका हेलिकप्टरका पाईलट अरुण मल्लले भने कोतको बाहिरबाटै दर्शन गरे । उनी प्रसाद ग्रहणमा समेत छुटे । कोतको पुननिर्माण गर्न शिलान्यास सकिएपछि फर्कने क्रममा हेलीकप्टर स्टार्ट नै नभएपछि पाईलट मल्लले धेरै कोसीस गरे ।
उनले सम्बन्धित इन्जीनियरसंग फोनमा परामर्श गरेर समेत हेलीकप्टरलाई उडाउन खोजे तर हेलीकप्टर स्टार्ट नै भएन् । झण्डै आधा घण्टा सम्म निरन्तर प्रयास गर्दा समेत हेलिकप्टर स्टार्ट नभएपछि स्थानीयले भने बमोजिम पाईलट थापा सहितको टोली पुनः कोतमन्दिर परिसर पुगेर पुजा गरे ।
‘इन्जीनियरसंग परामर्श गर्दा समेत हेलिकप्टर स्टार्ट भएन, स्थानीयको सुझाब बमोजिम म कोतमन्दिर भित्र गएर पुजा गरेँ, केही क्षमा भए माफी मागेँ, आएर स्टार्ट गर्ने कोसीस गरेकै क्षणभरमा हेलीकप्टर स्टार्ट भयो’’– पाईटल मल्ले अनुभव सुनाए । स्थानीयले भनेको जस्तै कोत मन्दिरको शक्तिलाई नजीकबाट अनुभुती भएपछि पाईटल मल्लले कोतको पुननिर्माणमा रु ५ हजार नगद सहयोग समेत गरे । २४ बर्ष लामो हेलीकप्टर उडानका क्रममा अहिलेसम्म यस्तो घटना कहिल्यै नभएको भन्दै पाईलट मल्लले आश्चर्य व्यक्त गरे । यसैबिच सोही अवसरमा मन्त्री र साँसद थापाद्धयले ताकम कोत जगन्नाथ मन्दिरको पुननिर्माणको लागि शिलान्यास गरेका छन् ।
बाईसे चौबिसे राज्यका समयमा निर्माण भएको करिब चार सय वर्ष पुरानो कोतको पुननिर्माण तथा जिर्णोद्धार गर्न लागिएको हो । समुन्द्रि सतहदेखि दुई हजार ५०० मिटरको उचाईमा अवस्थित ताकमकोतबाट बाईसे चौबीसे राज्यका पालामा थापा राजाले दुई सय वर्षसम्म राज्य सञ्चालन गरेको ईतिहाँस छ । ताकम कोत परिसरबाट गुर्जा, धौलागिरी, निलगिरी, अन्नपूर्ण र माछापुच्छ्रे हिमशृङखलाको साथै मनरोम पहाडी भुगोल, ग्रामिण बस्ती र सुर्योदयको दृष्य अवलोकन गर्न सकिन्छ ।
हेलीकप्टर स्टार्ट होस भनेर वडा अध्यक्ष कलानिधी सुवेदीले बली चढाउने भाकल गरेका थिए । भाकल पुरा भएर अतिथिहरु सकुशल गन्तब्यमा पुगेपछि स्थानीयबासीहरुले बोकाको बली चढाएका गाउँपालिकाका उपाध्यक्ष रेशम छन्त्यालले बताए । ‘ताकमकोतको महिमाको बारेमा पहिले सुनेका थियौ तर अहिले प्रत्यक्ष भोग्ने र देख्ने अवसर मिल्यो । यो घटनालाई धार्मिक शक्ति, संयोग वा प्राबिधिक के भन्ने अनौठो र अचम्म लागेको छ’ उपाध्यक्ष छन्त्यालले भने । स्थानीयबासीहरुका अनुसार यसअघि गत वर्ष मेरी कुशुम नामको चलचित्र छायांकनका क्रममा पनि यस्तै अनौठो घटना भएको थियो ।
तस्बिरः गोपाल आचार्य, तेजेन्द्र थापा