धवलागिरीमा योजना कार्यान्वयनको तयारी

  • १८ मंसिर २०७५, मंगलवार
  • 2145 पटक पढिएको

गोपाल आचार्य
बेनी १७ मङसिर । धवलागिरी गाउँपालिकाले चालु आर्थिक वर्ष २०७५÷७६ का लागि बजेट बिनियोजन गरेको योजना तथा कार्यान्वयनको तयारी गरेको छ । बस्ती स्तरमा आमभेला गरि उपभोक्ता समिति गठनलाई तिब्रता दिनुका साथै योजना कार्यान्वयनलाई प्रभावकारी बनाउन अनुशिक्षण कार्यक्रम सञ्चालन गरेको छ । वडा न. ७ ताकममा गठन भएका उपभोक्ता समितिका पदाधीकारी र सरोकारवालाहरुका लागि सोमबार तालीम दिइएको छ ।

उपभोक्ता समितिको काम कर्तब्य र अधिकार, सम्झौता, कार्यान्वयन, प्राबिधिक लगत तयार, जनसहभागिताको आवश्यकता, योजना फरफारक गर्ने प्रक्रिया, कानुनी तथा नितीगत ब्यवस्थाका विषयमा तालीम दिइएको हो ।  गाउँपालिकाका सबै वडाका उपभोक्तालाई तालिम दिएर योजना कार्यान्वयन अघि बढाइने प्रमुख प्रशासकिय अधिकृत अर्जुन शर्माले बताउनुभयो । ताकमदेखि तालिम सुरु गरिएको तालिम सात वटै वडामा सञ्चालन गरिने उहाँले बताउनुभयो ।

गाउँपालिकाका उपाध्यक्ष रेशम छन्त्यालले योजनालाई प्रभावकारी र पारदर्शी बनाउन उपभोक्ता समिति सक्रियता र समुदायको सहभागिताको आवश्यकता रहेको बताउनुभयो । भौगोलिक विकटता र पहुँचको कमिका कारण विकासमा पछि परेको धवलागिरी गाउँपालिकामा संघियतासँगै बजेट पर्याप्त भित्रीएकाले त्यसको सदुपयोग गरेर फड्को मार्नुपर्ने बताउनुभयो । वडा अध्यक्ष कलानिधी शर्माको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।