मरुवामा खेलमैदान निर्माण

  • १५ मंसिर २०७५, शनिबार
  • 1791 पटक पढिएको

म्याग्दी, १५ मंसिर । बेनी नगरपालिका–६ मरुवा पंगालीथरमा खेलमैदान निर्माण गरिएको छ । स्थानीय युवाहरुलाई खेल अभ्यासको लागि सहयोग पुगोस भन्ने उदेश्यले स्थानीय न्यू स्टार युथ क्लबको अगुवाईमा सरकारी बजेट बराबरकै थप लगानीमा खेलमैदान निर्माण गरिएको हो । बेनी नगरपालिका–६ को सिफारिसमा नगरपालिकाबाट रु १ लाख बजेट र स्थानीयबासीबाट रु १ लाख ५ हजार चन्दा संकलन गरि खेलमैदान निर्माण गरिएको क्लबका अध्यक्ष विराज केसीले जानकारी दिनुभयो ।

चन्दा संकलन भएको रकममध्ये रु ३ हजार स्थानीय सगरमाथा आमा समुहलाई सहयोग गरिएको अध्यक्ष केसीले बताउनुभयो । यसैबिच सो खेलमैदान शनिवार एक कार्यक्रमका बिच उद्घाटन गरिएको छ । वडा ६ का अध्यक्ष कृष्णसिंह बानियाँले खेलमैदानको उद्घाटन गर्नुभएको हो । कार्यक्रममा बोल्दै वडा नम्बर ६ का अध्यक्ष बानियाँ र ५ का अध्यक्ष लक्ष्मण बानियाँले यस क्षेत्रको विकास निर्माणमा सक्दो पहल गर्ने प्रतिबद्धता जनाउनुभएको छ । कार्यक्रममा बोल्दै नेकपाका युवा नेता एवम् चन्दादाता नारायण जिसीले युवाहरु खेलकुद संगै सामाजिक कार्यमा समेत अग्रसर हुनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा चन्दादाताहरुलाई समेत सम्मान गरिएको थियो । कार्यक्रम क्लब अध्यक्ष केसीको अध्यक्षता, क्लबका सल्लाहकार लालबहादुर खत्रीको स्वागत , आमा समुहका अध्यक्ष भिमकुमारी कार्कीको शुभकामना मन्तव्य र सचिब सन्दिप खत्रीको सञ्चालनमा सम्पन्न भएको थियो । करिब २ लाख लगानीमा ४५ मिटर लम्बाई र २० मिटर चौडाई भएको खेलमैदान निर्माण भएपछि युवाहरुलाई भलिबल, बास्केटवल लगायतका खेल अभ्यासको लागि सहयोग पुगेको छ ।

खेलमैदान निर्माण भएपछी भलिबल, बास्केटवल लगायतका खेल खेल्नको लागि घण्टौँ लगाएर छिमेकी गाउँ जानुपर्ने बाध्यता हटेपछि स्थानीय युवा र बालबालिकाहरुमा खुसीयाली छाएको क्लबका अध्यक्ष केसीले बताउनुभयो ।