१७ औँ जेसीज कप फुटवलमा न्यु वेष्ट प्वाइन्ट र केवी एकेडेमी फाइनल प्रवेश (भिडियो सहित)

  • १४ मंसिर २०७५, शुक्रबार
  • कमल खत्री
  • 2354 पटक पढिएको

म्याग्दी, १४ मङ्सिर । म्याग्दी सदरमुकाम बेनीमा जारी १७ औ अन्तर मा.वि. हुवावे जेसीज कप फुटबल प्रतियोगिता–२०१८ को फाइनलमा साविक बिजेता न्यु वेष्ट प्वाइन्ट आवासीय मावि बेनी र केवी एकेडेमि दरबाङ प्रवेश गरेका छन् । शुक्रवार भएको सेमिफाइनलमा धौलागिरि माविलाई शुन्यका विरुद्ध ८ गोल गर्दै वेष्ट प्वाइन्ट र बेनी बोडिङ स्कुललाई १ का विरुद्ध २ गोल गर्दै केवी एकेडेमी दरबाङ फाइनल प्रवेश गरेका हुन् ।

उपाधीको लागि फाइनल प्रवेश गरेको वेष्ट प्वाइन्ट र केवी एकेडेमी बिचको खेल शनिवार बिहान साढे १० बजेदेखि बेनी स्थित खुलामञ्चमा सञ्चालन गरिने म्याग्दी जेसीजका शाखा अध्यक्ष कमल विश्वकर्माले जानकारी दिनुभयो । फाइनल भिडन्त पक्का गरेका वेष्ट प्वाइन्ट यस अघि जेसीज कपको २ पटक बिजेता र ९ पटक उपबिजेता बनिसकेको छ भने केवी एकेडेमीले पहिलो पटक फाइनल यात्रा तय गरेको हो ।

फाइनल खेलको पूर्वसन्ध्यामा बेनी नगरपालिका र म्याग्दी जेसीज बिच मैत्रिपूर्ण प्रतियोगिता समेत सञ्चालन गरिने प्रतियोगिताका प्रवक्ता सुजन बरुवालले जानकारी दिनुभयो । म्याग्दीमा विद्यालय स्तरमा चर्चित मानिएको प्रतियोगितामा विभिन्न १६ विद्यालयले सहभागीता जनाएका थिए । प्रतियोगिताको बिजेतालाई जेसीजकप, ट्रफि, मेडल, प्रमाण–पत्र र नगद ४० हजार तथा उपबिजेतालाई ट्रफि, मेडल, प्रमाण–पत्र र नगद २५ हजार रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको म्याग्दी जेसीजका प्रतियोगिताका संयोजक बिरेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।

अनुशासित टिमलाई पाँच हजार पाँच सय, उत्कृष्ट खेलाडी, डिफेण्डर, सर्वाधिक गोलकर्ता, प्रशिक्षक, मिडफिल्डर, स्ट्राइकर, गोलरक्षक र प्लेयरलाई एक हजार पाँच सय रुपैयाँ नगद, मेडल र प्रमाण–पत्र प्रदान गरिने भएको छ ।

प्रतियोगिता सञ्चालनको लागि बेनीका पूर्व खेलाडी सन्तोष श्रेष्ठको स्मृतीमा उनका परिवारले रु दुई लाख पचास हजार रुपैयाँको सन्तोष स्मृति अक्षयकोष स्थापना गरि सहयोग गर्दै आएका छन भने प्रतियोगिताको मुख्य प्रायोजक हुवावे मोवाइलका बेनी स्थित नरेश मोवाइलका सञ्चालक नरेश श्रेष्ठले एक लाख रुपैयाँ उपलब्ध गराउनुभएको छ ।

कमल खत्री

म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l