वैदेशिक रोजगारि त्यागेर स्वदेशमै आत्मनिर्भरको बाटोमा पञ्चासेका खत्री

  • १४ मंसिर २०७५, शुक्रबार
  • 2669 पटक पढिएको

बेनी १४ मङ्सिर । दैनिक सयौँ युवायुवतीहरु रोजागारिको शिलसिलामा विदेशीने गरेका छन् । अझ म्याग्दी जिल्लाबाट त प्राय सबैजसो घरबाट कोही न कोही वैदेशीक रोजगारिमै छन् । तर यहाँका एक युवा भने वैदेशिक रोजगारिको आकर्षक सेवा सुविधा त्यागेर स्वदेशमै आन्मनिर्भर बन्नको लागि व्यवसायमा लागेका छन् । रघुगंगा गाउँपालिका–२ राखु पञ्चासेका बालकृष्ण खत्री १५ बर्ष बढीको वैदेशिक रोजगारिबाट आर्जन भएको सिप र पुँजीलाई सदुपयोग गर्दै अहिले सफल व्यवसायिको रुपमा चिनिन थालेका छन् ।

१२ बर्षसम्मको कतार बसाईलाई बिट मार्दै २०७३ सालमा स्वदेश फर्किएका ४० बर्षका खत्रीले सुरुमा कन्ट्रक्सन व्यवसाय मार्फत व्यवसायिक यात्रा सुरु गरेका थिए । कैलास निर्माण तथा सप्लायर्स प्रा.ली. नामक कम्पनी खोलेर एउटा डोजर गरिद गरि व्यवसाय सुरु गरेका खत्रीले अहिले ट्याक्टर मार्फत ढुवानी सेवा संगै धवलागिरिमै पहिलो पटक जेसिभि कम्पनीको डोजर र डोजरका पाठपुर्जाको विक्रि गर्ने आधिकारीक डिलर सञ्चालन गरेका छन् ।

स्वदेशमा आफु स्वरोजगार संगै अन्य व्यक्तिहरुलाई समेत रोजगारिको अवसर सिर्जना गर्ने हेतुले खत्रीले गत असोजदेखि म्याग्दीकै अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरमा ‘कैलास अटो पार्टस्’ नामको सवारी साधन मर्मत केन्द्र (वर्कसप) समेत सुरु गरेका छन् । खत्रीले सञ्चालन गरेको व्यवसायमा अहिले १० जनाले पत्येक्ष रोजगारिको अवसर पाएका छन् ।सुरुमा करिब ५० लाख लगानी गरि व्यवसाय सुरु गरेका खत्रीले अहिले जेसिभि कम्पनीको डिलर , ट्याक्टरको ढुवानी सेवा, सवारी साधन मर्मत केन्द्र सञ्चालन लगायतको व्यवसायमा झण्डै १ करोडको हाराहारीमा लगानी गरिसकेको बताउँछन् ।

‘‘ सुरुमा व्यवसायिक कृषि पेसा अंगाल्ने सोच बनाएर वैदेशिक रोजगारि त्यागेको हुँ, यहाँ आएर बिचार बिमर्श गर्दा कृषिबाट मात्रै आत्मनिर्भर बन्न समय लाग्ने देखेपछि अन्य व्यवसायबाट अघि बढेको हुँ, कृषिलाई समेत संगसंगै अघि बढाएको छु’’– युवा व्यवसायि खत्रीले भने । उनले आफ्नो गाउँको खेर गएको करिब २० रोपानी जग्गामा दाँते ओखर खेती समेत सुरु गरेका छन् । खत्रीकै अगुवाईमा गाउँमा खेर गएको २ सय रोपनी बढी पाखोबारीमा अहिले ओखर खेती विस्तार भएको छ ।