गुर्जा हिमालमा मृत्यु भएकाका परिवारलाई ५ लाख राहत

  • १३ मंसिर २०७५, बिहीबार
  • 2472 पटक पढिएको

म्याग्दी, १३ मंसिर । म्याग्दीको धौलागिरि गाउँपालिका–१ गुर्जा हिमालमा गत असोज २५ गते राति हिम आँधीमा परि मृत्यु भएका परिवारलाई नेपाल पर्यटन बोर्डले रु ५ लाखको दरले राहत प्रदान गरेको छ । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को पहलमा सोमबार पर्वतीय पर्यटन मजदुरका रूपमा काम गर्ने क्रममा मृत्यु भएका आश्रित परिवारलाई राहत उपलब्ध गराएको हो।

गुर्जामा मृत्यु भएका ४ र अरु बेला मृत्यु भएका ८ गरी १२ जनाको परिवारलाई बोर्डले राहत दिएको हो। यसअघि जनही २ लाख ५० हजारका दरले ३३ मृतकका आफन्तलाई राहत प्रदान गरिएको थियो। यस वर्ष ट्रेकिङ एजेन्सीमा काम गर्ने मजदुरको बिमा १० लाख र्पुयाएपछि त्यसको ५० प्रतिशत ५ लाख रुपैयाँ बोर्डले राहत दिन थालेको हो।

पदयात्री सूचना व्यवस्थापन प्रणाली वितरण (टिम्स) बाट संकलित रकमको १० प्रतिशत रकम पर्वतीय पर्यटन मजदुरको हितमा खर्च गर्नुपर्ने प्रावधानअनुसार बोर्डले राहत उपलब्ध गराएको हो। २०६४ भदौ २१ मा राजपत्रमा सूचना प्रकाशित गरी बोर्डले टिम्स वितरण थाले पनि २०६६ मंसिर ३१ देखि शुल्क लिन थालेको थियो। टिम्सबाट उठेको रकमको १० प्रतिशतले ‘पदयात्रा तथा पर्वतीय पर्यटन मजदुर कल्याणकारी कोष’ खडा गरेको छ।