तिम्ल्याह शिशुको उपचारका लागि आर्थिक सहयोग संकलन

  • १२ मंसिर २०७५, बुधबार
  • 2118 पटक पढिएको

बेनी १२ मङसिर । म्याग्दीको धवलागिरी गाउँपालिका ७ हिलापोखरीकी २२ वर्षीया कमला परियारले जन्माएका तिम्ल्याह शिशूको उपचारका लागि एक लाख रुपैयाँ भन्दा बढी आर्थिक सहयोग जुटेको छ ।पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचार गराइरहेका कमला र राजु परियारका तिम्ल्याह शिशूहरुको उपचारका लागि स्थानीयबासी, विभिन्न संघ संस्था र व्यक्तिहरुबाट एक लाख १५ हजार रुपैया सहयोग जुटेको हो ।

टोल सुधार समितिको पहलमा हिलपोखरी, ताकम, काफलडाँडा, शिवाङमा संकलन गरिएको ५७ हजार ७७० रुपैयाँ शिशूहरुका बुवाआमा राजु र कमलालाई बुधबार हस्तान्तरण गरिएको हिलापोखरीका तारानाथ पौडेलले बताए ।लायन्स कल्व अफ दरवाङ म्याग्दी, नेपाल रेडक्रस सोसाइटी दरवाङ उपशाखा, म्याग्दी उद्योग वाणिज्य संघको दरवाङ इकाईले संयुक्त रुपमा दरवाङमा बुधबार घरदैलो गरेर २४ हजार ८३० रुपैयाँ जुटाई परियारका आफन्तलाई हस्तान्तरण गरिएको वडा अध्यक्ष सन्तोष सुवेदीले बताए ।

मच्छिमको आमा समूहले १५ हजार रुपैयाँ सहयोग गरेका छन भने राजुलाई १२ सम्म पालनपोषण र पढाउनुभएकी वडा सदस्य नरकुमारी गुरुङले व्यक्तिगत रुपमा दुई हजार पाँच सय रुपैयाँ सहयोग गरेकी छन् । धारापानीका बासिन्दाहरुले १५ हजार रुपैयाँ संकलन गरेका जनाइएको छ ।मंगला गाउँपालिका ५ छिसवाङका ताराबहादुर क्षेत्रीले पनि दुई हजार रुपैयाँ उपलब्ध गराएका छन् । परियारले शल्यक्रिया मार्फत सोमबार बिहान पोखराको मणिपाल शिक्षण अस्पतालमा दुई छोरा र एक छोरी जन्माएकी थिइन् ।

कमलाको स्वास्थ्य सामान्य रहेपनि आईसीयुमा राखिएका तीन वटा बच्चाको उपचारका लागि आर्थिक अभावका कारण समस्या भएको कमलाका श्रीमान राजु नेपालीले बताए ।छोराहरु नौ/नौ सय र छोरीको तौल आठ सय ग्राम छ । आठ वर्षको हुँदा बुवालाई गुमाएका राजुकी आमा पनि उनी नौ वर्षको हुँदा उनलाई छाडेर दोस्रो बिवाह गरेर गएकी थिइन् । वडा सदस्य नरकुमारी गुरुङले राजुलाई कक्षा १२ सम्म पढाएकी थिईन् ।

तीन वर्षअघि कमलासँग बिवाह गरेपछि आफ्नो घरमा बस्न थालेका राजुको पारिवारीक अवस्था कमजोर रहेको टोल सुधार समितिका अध्यक्ष राम्जी मल्लले बताए ।