नयाँ बर्षमा घुम्टेमा ‘गुराँस उत्सव’

  • २४ चैत्र २०७३, बिहीबार
  • राम थापा
  • 3711 पटक पढिएको

बागलुङ, २४ चैत । नयाँ वर्ष २०७४ को अवसरमा बागलुङमा ‘गुराँस उत्सव’ हुने भएको छ । ३१ सय २० मिटरको उचाइमा अवस्थित पर्यटकीय लेक घुम्टेमा उत्सव गर्न लागिएको हो । गलकोट घुम्ने पर्यटन विकास केन्द्रले आयोजना गर्ने उत्सव आगामी चैत ३१ र वैशाख १ गते चल्नेछ । केन्द्रले विगत चार वर्षदेखि नयाँ वर्षको अवसरमा ‘गुराँस उत्सव’ आयोजना गर्दै आएको छ ।

जिल्लाको पर्यटकीय लेक घुम्टेको प्रवद्र्धन र लालीगुराँस संरक्षणको लागि उत्सव आयोजना गरिएको केन्द्रका अध्यक्ष झङ्कबहादुर बस्नेतले बताउनुभयो । केन्द्रले घुम्टेलाई ‘गुराँसको पहाड’ घोषणा गर्न र वैशाख १ गतेलाई ‘राष्ट्रिय लालीगुराँस दिवस’ घोषणा गर्न सरकारसँग माग गर्दै आएको छ । धार्मिक, प्राकृतिक तथा जैविक हिसाबले महत्वपूर्ण घुम्टे लेकको पर्यटकीय विकास र प्रवद्र्धनको लागि गुराँस उत्सवले टेवा पुग्ने ठानिएको छ ।

‘घुम्टेमा गुराँस फुल्ने याममा पर्यटकको आकर्षण बढाउन गुराँस उत्सव गर्ने गरिएको छ’ अध्यक्ष बस्नेतले भन्नुभयो । ‘घुम्टेको पर्यटन विकास र प्रवद्र्धनमा उत्सवले टेवा पुग्ने हाम्रो विश्वास छ ।’    घुम्टेको घुरीमै चार वर्षअघि मैत्रीपूर्ण पर्यटन भेला आयोजना गरेको केन्द्रले त्यसयता लगातार गुराँस उत्सव गर्दै आएको छ । उत्सवका अवसरमा अवलोकन यात्रा, कला–संस्कृतिको प्रदर्शनी, सूर्यास्त र सूर्योदयको अवलोकन, झण्डोत्तलन, ‘क्याम्प फायर’, मुख्य समारोह लगाएतका कार्यक्रमको आयोजना गरिएको छ ।
चैत मसान्तमा घुम्टे चढ्नेहरु उक्त दिन घुम्टेको लेकमै रात बिताएर नयाँ वर्षको दिन तल झर्नेछन् । सो अवसरमा घुम्टे चढ्ने पर्यटकले त्यहाँ अवस्थित प्रसिद्ध सिद्ध र भैरवको मन्दिरमा पूजाआजाको समेत अवसर पाउनेछन् । उत्सवमा सोरठी, सालैजो, यानीमाया, घुम्टे साइला जस्ता मौलिक संस्कृति झल्कने गीत, नृत्य तथा झाँकीको प्रदर्शनी राखिएको केन्द्रका बरिष्ठ उपाध्यक्ष राज थापाले जानकारी दिनुभयो ।

चैत–वैशाखमा घना वनक्षेत्रमा फुल्ने विभिन्न थरीका गुराँसले घुम्टेको लेक राताम्मे हुने गरेको छ । केन्द्रले घुम्टेलाई पर्यटकीय क्षेत्र घोषणा गर्ने, संरक्षित वनक्षेत्र बनाउने र जडीबुटीको अध्ययन केन्द्र बनाउने योजना पनि बनाएको छ । यस्तै, मन्दिरको स्तरीकरण गर्ने, पदमार्गलाई गुणस्तरीय बनाउने र  पर्यटनसँग सम्बन्धित पूर्वाधार निर्माण गर्ने लक्ष्य पनि लिइएको छ ।

राम थापा