बालबालिकाको शिक्षा र स्वास्थ्यमा सघाउँदै फ्रान्सेली ‘नमस्ते इनफान्स दीहिमालय’
- ६ मंसिर २०७५, बिहीबार
- कमल खत्री
- 2716 पटक पढिएको
म्याग्दी, ६ मंसिर । फ्रान्समा जन्मिएर नेपाली युवासंग बैबाहिक सम्बन्धमा बाँधिएकी एक युवतीको पहलमा स्थापना भएको संस्थाले नेपालका विभिन्न ठाउँमा बालबालिकाहरुको शिक्षा र स्वास्थ्य क्षेत्रमा सघाउन थालेको छ । म्याग्दीको रघुगंगा गाउँपालिका–७ चिमखोला पुख्र्यौली घर भई भैरवाको सुपौलीमा बसोबास गर्नुहुने रोशन पुनसंग बैबाहिक सम्बन्धमा बाँधिनुभएकी आन केलेयर पुनको पहलमा स्थापना भएको ‘नमस्ते इनफान्स दीहिमालय’ नामक संस्थाले म्याग्दी, भैरवा, काठमाण्डौ, ललितपुर लगायतका ठाउँमा बालबालिकाहरुको शिक्षा र स्वास्थ्यमा सघाउन थालेको हो ।
सन २००६ मा स्थापना भएको यस संस्थाले बालबालिकाहरुको शिक्षामा सघाउन विभिन्न कार्यक्रम र सहयोग गर्दै आएको छ । यसै संस्थाको समन्वयमा अहिले फ्रान्सेली जादुकलाकारको टोलीले यहाँका विद्यालयहरुमा विद्यार्थीहरुलाई उत्साहित बनाउन र नयाँ कुराहरुबारे उत्प्रेरणा र खोजीतर्फ अघि बढाउन जादुकला सम्बन्धि पर्दशनी र कार्यशाला गोष्ठी गरेका छन् । नमस्ते इनफान्स दीहिमालय संस्थाले शैक्षिक सुधारका कार्यहरु गर्दै आएको विद्यालयहरुमा पुगेर फ्रान्सेली म्याजिक नामक संस्था का प्रतिनिधि विलिएम, र मार्सीयलको टोलीले जादुकला सम्बन्धि ज्ञान प्रदान गरि विद्यार्थीहरुमा अनौठा र रोचक बिषयहरुप्रति अभिरुचि प्रदान गर्ने कार्य गरेको नमस्ते इनफान्स दीहिमालय संस्थाका नेपालका संयोजक रोशन पुनले जानकारी दिए ।
सो टोलीले म्याग्दीको मालिका गाउँपालिका–४ च्युरीबोटमा रहेको सिद्धार्थ माध्यमिक विद्यालय संगै भक्तपुरको बालमिकी आधारभुत विद्यालय, भैरवाको दुर्गा मावि र नेपाल अभिनाष अनाथ आश्रममा जादुकला सम्बन्धी कला प्रदर्शन र कार्यशाला गोष्ठी गरेको पुनले जानकारी दिए । त्यस्तै ललितपुरको अपांग सेवा संस्था र सतप्रयास केन्द्रमा पनि जादुकला सम्बन्धी प्रर्दशनी र कार्यशाला गरिनेछ । जादुकलाले विद्यार्थीहरुमा नयाँ कुराहरुको खोजी गर्ने बानिको विकास हुने उनीहरुको विश्वास छ ।
नमस्ते इनफान्स दीहिमालय नामक संस्थाले फ्रान्समा च्यारेटी डिनर, कवाडी सामान संकलन र विक्रि लगायतको माध्ययमबाट संकलन भएको आर्थिक स्रोतलाई नेपाली बालबालिकाहरुको शिक्षा र स्वास्थ्य संगै सामाजिक कार्यहरुको लागि परिचालन गर्दै आएको छ । संस्थाकी अध्यक्ष रहेकी आन केलेयर पुनले नेपालका बालबालिकाहरु शिक्षाबाट बञ्चित हुनुपर्ने अबस्थामा रहेकाले आफुले स्वयमसेवीहरुको सञ्जाल मार्फत सहयोग गर्दै आएको बताउँछीन् ।
यस संस्थाले म्याग्दीको च्युरीबोटमा रहेको सिद्धार्थ माध्यमिक विद्यालयमा विगत ५ बर्षदेखि २ जना निजी शिक्षकको तलब उपलब्ध गराउँदै आएको छ । प्रतिव्यक्ति मासिक १२ हजारका दरले बार्षिक रु २ लाख ८८ हजार रुपैयाँ सहयोग हुँदै आएको विद्यालयका प्रअ ललित बहादुर घर्तिले जानकारी दिए । समुदाय स्तरबाट मावि तह सञ्चालन भएको यस विद्यालयमा हाल ५ जना निजी स्रोतका शिक्षक छन् । करिब २ सय जना विद्यार्थी अध्ययनरत यस विद्यालयमा प्रावि दरबन्दी ३ , राहत दरबन्दी १ र निमाविमा २ राहत दरबन्दी बाहेक ५ जना निजी स्रोतका शिक्षक कार्यरत छन् ।
‘‘ निजी स्रोतका शिक्षकहरुको तलब जुटाउन धौधौ भएको समयमा यस संस्थाबाट आएको सहयोगले ठुलो राहत मिलेको छ, अहिलेसम्म १४ लाख बढी सहयोग संस्थाबाट प्राप्त भैसकेको छ’’– प्रअ घर्तिले भने । उनका अनुसार, निजी स्रोतका अन्य ३ जना शिक्षकको तलबको लागि च्युरीबोटका करिब ७५ घरधुरीले मासिक रु ५ सय शुल्क उठाएर विद्यालयलाई सहयोग गर्दै आएका छन् । यहाँका विद्यालयहरुमा सहयोग गर्न संस्थाले फ्रान्समा नेपाली नयाँ बर्षको उपलक्षमा च्यारिटी डिनर पार्टी आयोजना गर्दै आएको छ ।
सो कार्यक्रममा नेपाली खानाको स्वाद चखाउने, नेपाली साँस्कृतिक र नेपालको मौलिक कला संस्कृति झल्कने नाटक पदर्शन गरि आर्थिक संकलन गरिँदै आईएको संस्थाका नेपालका कार्यक्रम संयोजक पुनले जानकारी दिए । ‘फ्रान्समा संकलन हुने सतप्रतिशत रकम यहाँका बालबालिकाको शिक्षा र स्वास्थ्य क्षेत्रमा खर्चिने गरेका छौँ, हामीले यहाँ संस्थाका स्वयमसेवकहरु मार्फत नेपाली हस्तकलाको सामान विक्रि र कवाडीका सामान संकलन र विक्रि गर्दै आएका छौँ, त्यसबाट हुने आम्दानीलाई समेत यसै क्षेत्रमा परिचालन गर्छौ’–पुनले भने । यस संस्थाले भैरवाको दुर्गा माविमा ५ थान कम्युटर प्रदान गरेको छ ।
तत्कालिन रुपन्देहीकै नरमदेशस्वर प्राविमा तीन बर्षसम्ममा एक जना शिक्षको तलब उपलब्ध गराएको यस संस्थाले नेपाल अभिनास अनाथ आश्रमको लागि ४ बर्षसम्म मासिक ३० हजार रुपैयाँ उपलब्ध गराएको संस्थाले यो बर्षदेखि मासिक २० हजार सहयोग गर्न थालेको छ । ललितपुरको अपांग सेवा संस्थामा कार्यरत दुई जना साँगेतिक भाषा शिक्षकको प्रतिव्यक्ति मासिक १८ हजार ४ सयको दरले तलब यसै संस्थाले दिँदै आएको छ । अपांग सेवा संस्थामा रहेका अपांगता भएका बालबालिकाहरुलाई आत्मनिर्भर बनाउनको लागि आबश्यक तालिम सञ्चालन गर्न यस बर्ष २ लाख ३० हजार सहयोग गरेको छ ।
सेवा संस्थाका अध्यक्ष दयाराम महर्जनलाई फ्रान्समै लगेर एक महिना क्षमता अभिबृद्धिको लागि अवलोकन भ्रमण गराएको नमस्ते इनफान्स दीहिमालयले एक थान ब्रेलपिन्टर सहित अपांगता भएका बालबालिकाहरुको लागि अपांगमैत्री खेलकुदका सामाग्री सहयोग गरेको थियो । भक्तपुरको बालमिकी आधारभुत विद्यालयमा अध्ययतरत १४ जना कैदीबन्दीका छोराछोरीलाई लत्ताकपडा, स्टेशनरी लगायतको लागि बार्षिक रु ७५ हजारको दरले सहयोग गर्दै आएको छ । काठमाण्डौको सतप्रयास संस्थाका बालबालिकाहरुको लागि खाजा खर्च सहयोग गर्दै आएको यस संस्थाले मानसिक सन्तुलन गुमाएका व्यक्तिहरुको हेरचाह गर्ने कोसीस नामक संस्थामा आश्रीत सलोनी गुरुङ र उनकी मानसिक सन्तुलन गुमाएकी आमाको खाना खर्च स्वरुप विगत एक बर्षदेखि मासिक रु ५ हजारको दरले बार्षिक रु ६० हजार सहयोग दिँदै आएको जनाएको छ ।
विभिन्न समयमा आँखा शिविर, चश्मा वितरण र नेपाली चष्मा निर्माताहरुलाई तालिम समेत प्रदान गर्दै आएको यस संस्थाले भैरवाको सुपैलीमा हल निर्माणमा सहयोग गर्नुको साथै बालबालिकाहरुको क्षमता अभिबृद्धि र सचेतनामुलक कार्यक्रमहरुमा समेत हातेमालो गर्दै आएको छ । म्याग्दीको चिमखोलामा बगरखोला लघुजलविद्यूत परियोजनाको स्तरउन्नतीको लागि समेत पहल गरिएको संयोजक पुनले जानकारी दिए । यस संस्थाले नेपालमा दैवी प्रकोपको समयमा समेत सहयोग गर्दै आएको छ । भुकम्पबाट क्षतीग्रस्त भएको म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ शिखमा रहेको शिख माविको पुनिर्माणमा समेत रु १६ लाख आर्थिक सहयोग उपलब्ध गराएको थियो ।
कमल खत्री
म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l