विश्व चर्पि दिवसमा हाजिरीजवाफ प्रतियोगिता
- ६ मंसिर २०७५, बिहीबार
- 3282 पटक पढिएको
म्याग्दी,६मंसिर । चर्पि दिवस–२०१८ को अवसरमा माविस्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ । गुड नेबर्स इन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा कदम म्याग्दीद्वारा सञ्चालित म्याग्दी सामुदायिक विकास परियोजना अन्तर्गत स्वास्थ्य र सरसफाई कार्यक्रमबाट प्रतियोगिता आयोजना गरिएको हो ।
चर्पि दिवसको अवसर पारेर धौलागिरी गाउँपालिकाको हेम मावि स्रोतकेन्द्रमा हाजिरीजवाफ प्रतियोगिता सञ्चालन गरिएको आयोजकले जनाएका छन् । विद्यालय, समुदाय र विद्यार्थीको व्यक्तिगत, घरायसी एवं सामाजिक क्षेत्रमा खानेपानी, सरसफाई र स्वच्छतामा अतिरिक्त क्रियाकलापमार्फत विद्यार्थीमा सरसफाइको ज्ञान वृद्धि र समुदायमा सरसफाइको अवस्था सुधार गर्ने उद्देश्यका साथ कार्यक्रम गरिएको जनाइएको छ ।
प्रतियोगितामा धौलागिरी गाउँपालिका अन्तर्गत जनकल्याण मावि गूर्जा, लमसुङ मावि लुलाङ, धनजनता मावि मुना, बुद्धि विकास मावि, मुदी, चन्द्रज्योती मावि मुदी खिबाङ र हेम मावि सिबाङले सहभागिता जनाएका थिए । प्रतियोगिताबाट हेम मावि सिबाङ प्रथम, धनजनता मावि मुना द्वितीय र चन्द्रज्योती मावि मुदी खिबाङ तृतीय भएका छन् । विजयी विद्यालय र सहभागीलाई ट्रफी, प्रमाणपत्र तथा सरसफाइका सामग्रीहरु वितरण गरिएको छ ।
हेम माविका प्रधानाध्यापक शेरबहादुर केसीको अध्यक्षता, स्रोतव्यक्ति गिरीप्रसाद छन्त्यालको प्रमुख आतिथ्य र कदम म्याग्दीका जनस्वास्थ्य सहायक निरमाया मिजारको सञ्चालनमा सम्पन्न कार्यक्रममा सामुदायिक विकास परियोजना संगम म्याग्दीका शिक्षा विकास अधिकृत चिरञ्जीवी रेग्मीले मन्तव्य राखेका थिए ।