धवलागिरीको सम्पर्क कार्यालय मुना स¥यो

  • ३ मंसिर २०७५, सोमबार
  • सन्तोष गौतम
  • 2101 पटक पढिएको

म्याग्दी, ३ मंसिर ।  म्याग्दीको धवलागिरी गाउँपालिकाले स्थापना भएको २१ महिनापछि तोकिएको केन्द्रबाट नियमित सेवा प्रवाह सुरु गरेको छ ।सदरमुकाम बेनीको ईन्द्रेणीटोलमा कोठा भाडामा लिएर सञ्चालन गरिएको सम्पर्क कार्यालय  गत   बुधबार मुनामा सारिएको हो । अबदेखि गाउँपालिकाको सबै गतिबिधि र सेवा प्रवाह मुनाबाट सञ्चालन हुने गाउँपालिकाका अध्यक्ष थमसरा पुनले बताउनुभयो ।

२०७३ फागुनमा स्थानीय तह घोषणा हुने क्रममा केन्द्रको विवाद थियो । जनप्रतिनिधि चुनिएपछि २०७४ साउनमा भएको गाउँसभाले मुनाको घट्टेखोलामा स्थायी केन्द्र कायम गर्ने निर्णय गरेका थिए । ‘बैङ्क, कर्मचारी र पूर्वाधारको अभावमा बेनीमा सम्पर्क कार्यालय राख्नुपर्ने बाध्यता थियो’ अध्यक्ष पुनले भन्नुभयो ‘सम्पर्क कार्यालय बन्द गरेर मुनामा आएका छौ ।’ भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित ७ वटा वडा रहेको धवलागिरीका कर्मचारी र जनप्रतिनिधिहरु गाउँसभा, बैठक, तालिम, गोष्ठि, अनुगमन गर्ने बाहेकको अवस्थामा अधिकांश समय सदरमुकाम बेनीमै रहने गरेका थिए ।

गत असार अन्तिम साता ताकममा प्रभु बैङ्कले शाखा विस्तार गरेपछि शिक्षक, कर्मचारी, उपभोक्ता समितिको तलब भुक्तानी र आर्थिक कारोबार सहज भएपनि दरबन्दि अनुसारका कर्मचारी, इन्टरनेट, विद्युत लगायतको समस्या रहेको प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले बताउनुभयो । तत्काललाई ३ नम्बर वडाको भवनमा स्थापना गरिएको कार्यालयबाट सेवा सूचारु गरेको गाउँपालिकाले स्थायी पूर्वाधारको व्यवस्था गरेपछि घट्टेखोलामै सर्ने जनाएको छ । मुना र घट्टे खोला एउटै वडामा पर्छन । दुई बस्तीको दुरी करिब दुई किलोमिटर मात्र अन्तर छ ।

गाउँपालिकाको लागि २२ रोपनी जग्गा खरिद र दान मार्फत प्राप्त भइसकेको छ । थप दश रोपनी जग्गा जुटाएर मापदण्ड पुरा गरी भवन निर्माणको काम अघि बढाउन प्रदेश र संघीय सरकारसँग पहल गरिएको उपाध्यक्ष रेशम छन्त्यालले बताउनुभयो । गाउँमै कार्यालय स्थापना भएपछि बल्ल स्थानीय तहको महशुस गर्न पाउने स्थानीयबासीको अपेक्षा छ । कर्मचारी र अध्यक्ष, उपाध्यक्ष अधिकांश समय सदरमुकाममा बसेकोमा स्थानीयबासीले गुनासो गरेका थिए । स–सानो कामका लागि पनि सदरमुकाम धाउनुपर्ने अवस्थाको अन्त्य भएको छ ।

यसअघि केन्द्र विवाद रहेको रघुगंगा गाउँपालिकाले पनि करिब १४ महिना सदरमुकाममा सञ्चालन गरेको सम्पर्क कार्यालय गत बैशाखमा स्थयी केन्द्र मौवाफाँट सारेको थियो । पाखापानी तोकिएको रघुगंगाको केन्द्र गाउँसभाबाट मौवाफाँटमा स्थानान्तरण गरिएको थियो ।

सन्तोष गौतम