बेनीमा करदाता शिक्षा तथा अन्तरक्रिया

  • ३ मंसिर २०७५, सोमबार
  • 1924 पटक पढिएको

बेनी ३ मङ्सिर । बेनीमा सोमबार संघीय संरचना अनुसार नेपालको राजस्व नीति र कर प्रणाली विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । करदाता शिक्षा प्रदान गर्ने उद्देश्यले आन्तरिक राजस्व कार्यालय बागलुङ र म्याग्दी उद्योग वाणिज्य संघको आयोजनामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा प्रमुख कर अधिकृत हेमराज सुवेदी र कर अधिकृत सुन्दर श्रेष्ठले वर्तमान राजस्व नीति र कर प्रणालीको विषयमा सहजिकरण गर्नुभएको थियो ।

उहाँहरुले म्याग्दी, पर्वत र मुस्ताङका करदाताहरुले अब बागलुङबाटै कर तिर्न पाउने सुबिधा रहेको जानकारी दिनुभयो । यसअघि धौलागिरि क्षेत्रका यी तीन जिल्लाका करदाताहरु कर तिर्नका लागि पोखरा पुग्नुपर्ने बाध्यता थियो । बागलुङबाटै कर तिर्ने सुबिधा भएपछि करदाताहरुलाई सुबिधा भएको छ । पोखरा जान आउन लाग्ने समय, आर्थिक खर्च र झञ्जट हटेको छ ।

म्याग्दीमा पान नम्बर लिएका तीन हजार र भ्याटमा दर्ता भएका तीन सय जना भन्दा बढी करदाता छन् । पान नम्बर लिएका मध्य दुई हजार जनाको हाराहारीका ब्यवसायी मात्र सक्रिय रहेका उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष सुबिन श्रेष्ठले बताउनुभयो । म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उत्तमकुमार कर्माचार्यको अध्यक्षता र महासचिव लिलाराम गौतमले सञ्चालन गर्नुभएको कार्यक्रमको बरिष्ठ उपाध्यक्ष बेलबहादुर कटुवाले समापन गर्नुभएको थियो ।