ताकममा सम्पन्न निशूल्क आँखा उपचार शिविरबाट एक हजार जना लाभान्वित

  • २ मंसिर २०७५, आईतवार
  • 2882 पटक पढिएको

सन्तोष गौतम, गोपाल आचार्य
ताकम २ मङसिर । म्याग्दीको धवलागिरी गाउँपालिका ७ ताकममा आइतबार सम्पन्न निशूल्क आँखा उपचार शिविरबाट एक हजार जना भन्दा बढी लाभान्वित भएका छन् । हिमालयन आँखा अस्पताल पोखाराको प्राविधिक सहयोग, धवलागिरी गाउँपालिका, ताकम स्वास्थ्य चौकी र धवलागिरी जनयुवा क्लव ताकमको आयोजनामा चार दिनसम्म शिविर सञ्चालन भएको थियो ।  शिविरमा एक हजार १३ जना लाभान्वित भएका गाउँपालिकाको स्वास्थ्य संयोजक लोकनाथ पौडेलले जानकारी दिनुभयो । ५८ जनाको मोतियाबिन्दु र आँखा भित्र परेला पसेका चार जनाको शल्यक्रिया गरिएको छ ।

केही बिरामीहरुलाई पोखरामा निशूल्क उपचारको ब्यवस्था मिलाइएको छ । भौगोलिक रुपमा विकट र दुर्गम बस्तीका बासिन्दाहरुलाई शिविरले राहत मिलेको मोतियाबिन्दुको शल्यक्रिया गर्नुभएका ताकमका उद्धिमबहादुर भण्डारीले बताउनुभयो । पोखरा जाने आउने समय र खर्चको बचत हुनुका साथै ८ वर्षदेखि बन्द आँखा देख्ने भएकोमा भण्डारीले खुसी ब्यक्त गर्नुभयो । हिमालयन आँखा अस्पतालका चिकित्सक हरिबिक्रम अधिकारीको नेतृत्वमा नेडरल्याडका बिशेषज्ञ चिकित्सक टर्न रोवर्टसन लगायत १४ जना बिदेशी र नेपाली स्वास्थ्यकर्मीहरुको टोलीले सेवा दिनुभएको थियो ।

शिविरमा स्वास्थ्य परिक्षण, परामर्श, शल्यक्रिया, चस्मा र औषधी वितरण सम्बन्धि सेवा दिइएको थियो । शिविर सञ्चालनका लागि नेडरल्याडका चिकित्सक रोवर्टसनको टोलीले औषधी र व्यवस्थापनमा सहयोग गरेका थिए । ताकम, मुना, मुदी, गुर्जा, लुलाङ, मराङ, मल्कवाङका साथै मालिका, मंगला र बेनी नगरपालिकाका बासिन्दाहरुले शिविरबाट सेवा लिएका छन् । ताकमको टोल टोलका बासिन्दाले चामल संकलन गरेर बिरामीहरुलाई खानाको ब्यवस्था गरेका थिए ।

उनिहरुको टोलीले शनिबार श्रमदान गरेर ताकमको हिलापोखरी स्थित जगन्नाथ आधारभुत विद्यालयको भवनमा रंगरोगन र तीन वटा कक्षा कोठामा कार्पेट राखेका छन् । करिब पचास हजार रुपैयाँ खर्च गरेका जनाइएको छ । ताकम स्वास्थ्य चौकीलाई औजार र ताकम माविलाई शैक्षिक तथा खेलकुदका सामग्री सहयोग गरेका छन् । समापन कार्यक्रममा प्रमुख अतिथि धवलागिरी गाउँपालिकाका उपाध्यक्ष रेशम छन्त्यालले दुर्गम र विकट क्षेत्रका बासिन्दाको स्वास्थ्य उपचार सेवामा पहुँच वृद्धीका लागि शिविर प्रभावकारी भएको बताउनुभयो ।

नेडरल्याडका चिकित्सक रोवर्टसनले छिट्टै बिशेषज्ञ शिविर सञ्चालन गर्ने बताउनुभयो । आफूहरुको सहयोगले विकट बस्तीका बासिन्दाहरुलाई पुगेको सुबिधाबाट उत्साहीत र खुसी भएको बताउनुभयो । धवलागिरी गाउँपालिका ३ मुनाका वडा अध्यक्ष पूर्म पुनले अन्य वडाहरुमा पनि यस्ता शिविर सञ्चालन गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो । कार्यक्रममा हिमालयन आँखा अस्पताल पोखराका चिकित्सक हरिबिक्रम अधिकारी, गाउँपालिकाको स्वास्थ्य संयोजक लोकनाथ पौडेल, ताकम माविका प्रअ ओमकार पौडेलले मन्तब्य व्यक्त गर्नुभएको थियो ।

वडा अध्यक्ष कलानिधी सुवेदीको अध्यक्षता र तेजेन्द्र थापाको सञ्चालनमा समापन कार्यक्रम सकिएपछि स्वास्थ्यकर्मी तथा चिकित्सकको टोलीलाई ताकमका बासिन्दाहरुले बाजागाजा सहित बिदाइ गरेका थिए । धवलागिरी जनयुवा कल्वले मायाको चिनो वितरण गरेका थिए ।