समाचारको प्रभाव : नगरपालिकाले सडकको छेउमा फालेको फोहोर हटायो

  • २५ कार्तिक २०७५, आईतवार
  • सन्तोष गौतम
  • 1589 पटक पढिएको

बेनी २५ कार्तिक । बेनी नगरपालिकाले बेनी–गलेश्वर सडक अन्तरगत रातोपहिरोमा सडककै छेउमा अब्यवस्थित रुपमा फालेको फोहोर आइतबार हटाएको छ ।म्याग्दीको उत्तरी क्षेत्र हुदै हिमाली जिल्ला मुस्ताङ जोड्ने बेनी–जोमसोम सडकको प्रवेश बिन्दुमा पर्ने जलेश्वरमा सडकमै फालिएको फोहोरका कारण दुर्गन्ध फैलीएर स्थानीयबासी, पर्यटक र तिर्थयात्रीहरु समस्यामा परेको विषयमा समाचार सार्वजनिक भएपछि नगरपालिकाले डोजर परिचालन गरेर फोहोर हटाएको हो ।

नगर उपप्रमुख सञ्जु बरुवाल, नगरपालिकाका ईञ्जिनियर बिमलरञ्जन कार्की, प्राबिधिक बिष्णु पौडेल, योजना तथा प्रशासन शाखाका कृष्ण शाक्यको टोली सम्बन्धित स्थानमै बसेर फोहोर हटाउन लगाएको थियो ।

यात्रुलाई असर पर्ने र दुर्गन्ध फैलीने गरि सडकको छेउमा फालीएको फोहोर पन्छाएर केही तल अर्को ब्यवस्था नहुँदा सम्मका लागि अस्थाई रुपमा व्यवस्थापन गरीएको नगर उपप्रमुख बरुवालले बताउनुभयो । यसअघि लक्ष्मिपुजाका दिन नगरप्रमुखले रातोपहिरोको निरिक्षण गरि तिहारको बिदा लगत्तै फोहोर हटाउन कर्मचारीहरुलाई निर्देशन दिएका थिए ।

यसअघि फोहोर ब्यवस्थापन गर्दै आएको जलेश्वर स्थित कालिगण्डकी किनारमा गत साउनदेखि फोहोरमैला ब्यवस्थापन केन्द्र निर्माण सुरु भएपछि गत साउनदेखि सडक छेउमा फालीएको फोहोरका कारण दुर्गन्ध फैलीनुका साथै सडकमा दुर्घटनाको जोखिम बढेपछि सरोकारवालाहरुले नगरपालिकाप्रती गुनासो गरेका थिए ।

फोहोर ब्यवस्थापनमा खटिएका कर्मचारी र कवाडी संकलकहरुले सजिलोका लागि सडककै छेउमा फोहोर फाल्ने गरेको बताएको छ । बेनी नगरपालिकाका इञ्जिनियर बिमलरञ्जन कार्कीले फोहोर ब्यवस्थापन केन्द्र सञ्चालन गर्न अझै एक महिना लाग्ने बताए ।

बेनी बजारको फोहोरलाई सुरक्षित रुपमा व्यवस्थापन गरी त्यसलाई आम्दानीको स्रोतको रुपमा विकास गर्ने उद्देश्यले बेनी नगरपालिको ८ र ९ को सिमाना रातो पहिरोमा ४७ लाख रुपैयाको लागतमा केन्द्र निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।

केन्द्र सञ्चालन भएपछि कालीगण्डकी र सडकमा आवत जावत गर्नेलाई असर नपर्ने तथा दुर्गन्ध नआउने बेनपा ९ का वडा अध्यक्ष बेलबहादुर चोखालले बताए । कुहिने फोहोरलाई दुर्गन्ध आउन नदिने प्रबिधिको प्रयोग गरी मल बनाएर बिक्री गरी आम्दानी गर्ने नगरपालिकाले जनाएको छ ।

सन्तोष गौतम