सामुदायिक विद्यालयको लागि आयस्रोत जुटाउन देउसीभैलो
- २१ कार्तिक २०७५, बुधबार
- सन्तोष गौतम
- 1727 पटक पढिएको
बेनी, २१ कार्तिक । जलजला गाउँपालिकाको बगरफाँटका बासिन्दाहरुले सामुदायिक विद्यालय सञ्चालनका लागि आयस्रोत जुटाउन तिहार पर्वको अवसरमा बुधबारदेखि देउसीभैलो खेल्न सुरु गरेका छन् ।
जलजला गाउँपालिकाको २ र ३ नम्बर वडामा पर्ने बगरफाँटमा रहेको सिद्धबाबा आधारभुत विद्यालयको तहवृद्धी र निजी स्रोतका शिक्षकको तलबभत्ता जुटाउने उद्देश्यले देउसीभैलो खेलीएको ब्यवस्थापन समितिका अध्यक्ष हिराबहादुर बरुवालले बताउनुभयो ।
बगरफाँटका सबै टोलमा पुगेर खेलीने देउसीभैलोबाट भएको आम्दानी विद्यालयका निजी स्रोतका शिक्षक र शैक्षिक तथा भौतिक विकासमा परिचालन गरिने उहाँले बताउनुभयो । बगरफाँटमा रहेका आमा समूह, युवा क्लव, जनजाती र दलित सञ्जाल तथा क्षेत्री समाजको सहभागितामा देउसीभैलो खेलीएको छ ।
वि.स २०५५ मा स्थापना भएर कक्षा ५ सम्मको पठनपाठन हुदै आएको विद्यालय विद्यार्थी अभावका कारण २०६८ मा बन्द भएको थियो । तिब्र रुपमा बजारीकरण हुदै गएको बगरफाँटका बासिन्दाको पहलमा २०७४ देखि पुनसञ्चालन भएको विद्यालयमा हाल कक्षा १ सम्मको पठनपाठन हुने गरेको छ ।
कक्षा १ मा ६, केजीमा ५ र बालकक्षामा २२ जना बालबालिका छन् । सरकारी दरबन्दिका दुइ जना बालकक्षा सहयोगी कार्यकर्ता र एक जना निजी स्रोतका शिक्षक छन् । आगामी वर्ष तह थप गर्दै जाने योजना छ ।
जलजला ३ का वडा अध्यक्ष रवी भण्डारीले विद्यालयको भौतिक पूर्वाधार ब्यवस्थापन र दरबन्दिका लागि गाउँपालिकाबाट पहल गर्ने प्रतिवद्धता जनाउँदै समुदायले विद्यालयमा विद्यार्थी संख्या बढाउन र गुणस्तरीय शिक्षाको वातावरण बनाउन आवश्यक रहेको बताउनुभयो ।