दुबै हात नचल्ने र खुट्टाले पनि काम नगर्ने चन्द्रवहादुर दर्जीको व्यथा

  • १९ कार्तिक २०७५, सोमबार
  • धु्रबसागर शर्मा
  • 1467 पटक पढिएको

सानैमा दायाँ हात र खुट्टाले काम नगरेपछि म्याग्दीको बेनी नगरपालिका २ ज्यामरुककोट फापरखेतका चन्द्रवहादुर दर्जी बायाँ हात र वायाँ खुट्टाको भरमा सकीनसकी ज्याला मजदुरी गरेर आफू सहित परिवारको गुजारा चलाउने गर्दथे । तर, विडम्वना केही दिन अघि पशु स्याहार गर्ने क्रममा गोठमा लडेर बायाँ हात पनि नचल्ने भएपछि दर्जीको विचल्ली भएको छ । उपचारको त कुरै छोडौं हातको चेकअप गर्नका लागि (जचाउनका लागि ) अस्पतालसम्म जाने पैसा नहुँदा दर्जी आफ्नो भाग्यलाई धिक्कार्दै सहयोगदाताहरुको खोजिमा रहेका छन् ।


५३ वर्षिय अविवाहित दर्जी अहिले कसैले पस्केर थालमा हालिदिएको खाना पनि खान सक्ने अवस्थामा नरहेका र उनको अवस्था अत्यन्त टिठ लाग्दो रहेको बेनपा २ भकुण्डेका समाजसेवी भीमवहादुर पौडेलले जानकारी दिनुभयो । पौडेलका अनुसार गोठमा लडेर वायाँ हात पनि नचल्ने भएपछि दर्जी ज्याला मजदुरी गर्न सक्ने अवस्थामा छैनन् ।
खर्चको अभाव हुनाले उपचार गर्न नसकेको र एकचोटि राम्रोसँग अस्पतालमा जचाउन जान नसकेको दर्जीको गुनासो रहेको छ । उपचार गर्न, जानआउन, खान, बस्न र आराम गर्दासम्म आवश्यक पर्ने रकमसम्म जुटाउन सकेमा दर्जीको उद्धारका लागि केही राहत हुने स्थानीयले बताएका छन् । तिहारको रमझममा गरिने अतिरिक्त खर्च कटाएर दर्जीको उपचारका लागि सहयोग गर्न स्थानीय बुद्धिजीवि भविन्द्र कुवँर (भवभिन्न)ले उदारमना व्यक्तिहरुलाई सहयोग गर्नुभएको छ । । ‘रङ्गरमिता वा भोगविलासका निम्ति खर्च गर्ने अतिरिक्त रकमको सानो अंश भए पनि मानवसेवा र उद्धारमा लगाउनुहुन सम्पूर्ण सहयोगी, जिम्मेवार एवम् समाजसेवी महानुभावहरुमा हार्दिक अनुरोध छ’ कुवँरले भन्नुभयो ।

धु्रबसागर शर्मा