चिमखोले काइँलाद्वारा १० लाखको अक्षय कोष स्थापना

  • १४ कार्तिक २०७५, बुधबार
  • 2221 पटक पढिएको

म्याग्दी, १४ कात्तिक । म्याग्दीको रघुगंगा गाउँपालिका ७ चिमखोलाका समाजसेवी, पत्रकार तथा साहित्यकार दुत गर्वुजा पुन (चिमखोले काइँला) ले १० लाख रुपैयाँको अक्षय कोष स्थापना गर्नुभएको छ । आफ्नो दिवंगत माता पिता शेरबहादुर र जनिमा गर्बुजाको चौथो स्मृति दिवसको अवसरमा हाल बेलायत बस्दै आउनुभएका पुनले चिमखोलाका गरिब तथा जेहेन्दार विद्यार्थीका लागि अक्षय कोष स्थापना गर्नुभएको हो ।


अक्षय कोषबाट हरेक वर्ष गाउँबाट स्नातक, स्नातकोत्तर र विद्यावारिधी मा अध्ययनरत विद्यार्थीलाई कम्तीमा एक लाख खर्च गरिने समाजसेवी पुनले बताउनुभयो । हालै जन्मथलो चिमखोला पुग्नुभएका समाजसेवी पुनले अक्षयकोष मार्फत यो बर्ष रु ५० हजार रकम दुई विद्यार्थीलाई वितरण गर्नुभएको थियो ।
सो अक्षय कोषबाट यस वर्ष चिमखोला निवासी हाल इनजीनियरीङ अध्ययन गरिरहेका धविन पुन र म्याग्दी बहुमुखी क्याम्पसमा अग्रेजी बिषयमा बिएड अध्ययन गरिरहेकी अनिता सुनुवारलाई जनही २५÷२५ हजार हस्तान्तरण गर्नुभएको थियो । अक्षयकोषबाट आउने वर्षहरुमा कम्तीमा एक लाख रकम चिमखोलाका गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई वितरण गरिने पुनले जानकारी दिनुभयो ।


दुर्गम गाउँका बालबालिकाहरुलाई उच्च शिक्षा अध्ययन तर्फ आकर्षित गरि शैक्षिक जनशक्ति उत्पादनमा सहयोग पुगोस भन्ने उदेश्यले अक्षयकोष स्थापना गरिएको हो । आफ्नो स्वर्गीय बुबा आमाको स्मृतिमा यस अघि गर्वुजाको घरपरिवारले ‘शेर जनिमा’ स्मृति पुरस्कार स्थापना गरि चिमखोलामा रहेका विभिन्न विद्यालयका जेहेन्दार विद्यार्थीहरुलाई पुरस्कृत गर्दै आएका छन् । मुख्यगरी जेहेन्दार, विपन्न, दलित छात्रहरुको पढाइमा सहयोग गर्ने उद्देश्यले स्व. गर्वुजा दम्पतीका घरपरिवारले वि.सं. २०७२ मा सो पुरस्कार कोष स्थापना गरेका थिए ।

अमर मावि चिमखोलाका पुर्व शिक्षक समेत रहनुभएका सहयोगदाता पुन युके मगर समाजका पूर्व अध्यक्ष समेत हुनुहुन्छ । हालै गृह गाउँ आएको अवसरमा पुनले गलेश्वर स्थित ज्येष्ठ नागरिक आश्रमका बृद्धबृद्धाहरुलाई रकमदान सहित एक दिन खाना खुवाउनुभएृको थियो । उहाँले सो अवरमा पृती उद्धार कोषमा रु २० हजार सहयोग गर्नुभएको छ । पुनले गलेश्वरमा भवन निर्माण गर्दा यस अघि रु ५० हजार सहयोग गर्नुभएको थियो ।