चिमखाेलामा शेर जनिमा स्मृति पुरस्कारबाट १० जना विद्यार्थी पुरस्कृत

  • १३ कार्तिक २०७५, मंगलवार
  • 3114 पटक पढिएको

म्याग्दी  ।  म्याग्दीको रघुगंगा गाउँपालिका–७ चिम्खोलाका स्व. शेरबहादुर गर्बुजा र जनिमा गर्बुजाको नाममा स्थापित ‘शेर जनिमा स्मृति पुरस्कार’बाट १० जना विद्यार्थीहरुलाई पुरस्कृत गरिएको छ । चिमखोलामा रहेका विभिन्न विद्यालयका जेहेन्दार विद्यार्थीलाई जनही दुई हजार रुपैयाँसहित पुरस्कृत गरिएको हो । पुरस्कृत हुनेहरुमा चिम्खोला आधारभूत विद्यालय गौरामुनीमा अध्ययनरत प्रथम दिप्ती घर्ती (सुनार), द्वितीय नेहा पुन, सिद्ध आधारभूत विद्यालय पात्लेखेत चिम्खोलाका प्रथम स्नेहा पुन, द्वितीय गगन गर्बुजा छन् ।

त्यस्तै, अमर मावि चिम्खोलामा कक्षा १ देखि ५ मा प्रथम बनेकी स्वदेशी पाइजा, द्वितीय अनुपम पुन, ६ देखि ८ कक्षासम्म प्रथम जानकी पाइजा, द्वितीय स्मृति बुदा र ९ देखि १० सम्मकोमा प्रथम तिलिसा थापा, द्वितीय सुष्मा पुन पुरस्कृत भएका हुन् । पुरस्कारहरु अमृत गर्बुजाका परिवारले प्रायोजन गरेका थिए ।
रघुगंगा गाउँपालिका वडा नम्बर ७ का अध्यक्ष दुर्गा पुनको अध्यक्षतामा भएको कार्यक्रममा भूतपूर्व गाविस अध्यक्ष नन्दप्रसाद पुन र अमर मावि चिम्खोलाका प्रधानाध्यापक तीर्थबहादुर थापाको प्रमुख आतित्यथामा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा मगर संघ युकेका पूर्व अध्यक्ष एवं एभरेस्ट टाइम्सका म्यानेजिङ डाइरेक्टर दुतबहादुर गर्बुजा पुनमगर (चिम्खोले काइँला), उनकी श्रीमती एवं रेडियोकर्मी जमुना पुन, महिला बालबालिका तथा जेष्ठ नागरिकमन्त्री थममाया थापामगरका स्वकीय अधिकृत हस्तकुमार गर्बुजा, उनकी धर्मपत्नी नेत्र गर्बुजा लगायतको सहभागिता थियो भने शिक्षक कप्रसाद गर्बुजाले कार्यक्रमको सञ्चालन गरेका थिए ।

पूर्व ब्रिटिस लाहुरे समेत रहेका चिम्खोले काइँला र चिम्खोले काठमाडौं उपत्यका सहयोग समिति संयोजक सचिव, म्याग्दी मगर समाज काठमाडौं उपत्यकाका कार्यसमिति सदस्य रहेका हस्तकुमार, शेरबहादुर र जनिमाका छोराहरु हुन् । मुख्यगरी जेहेन्दार, विपन्न, दलित छात्रहरुको पढाइमा सहयोग गर्ने उद्देश्यले स्व. शेर जनिमाका परिवारले वि.सं. २०७२ मा स्थापना गरेको छात्रवृत्ति अक्षय कोषबाट गत वर्ष पनि १० जना पुरस्कृत भएका थिए ।


पाँच लाख रुपैयाँको शेर जनिमा स्मृति छात्रवृत्ति अक्षय कोषको संयोजक संस्थापक बेलायत निवासी अमृत गर्बुजा र बुहारी मिनाकुमारी गर्बुजा हुन् । अमृत शेर जनिमाका ठाइँला छोरा हुन् । अक्षय कोषमा युके निवासी दुत पुन÷जमुना पुन, अमेरिका निवासी निलम गर्बुजा÷सीता गर्बुजा, नेपालमै रहेका हस्तकुमार गर्बुजा र नेत्र गर्बुजाका परिवारको योगदान रहेको छ । यसैबीच, सोही अवसरमा दुई वर्षभित्र निरक्षरता हटाउने नेपाल सरकारको अभियानमा सहयोग पु¥याउने उद्देश्यले अमेरिका बस्दै आएका निलम र सीता गर्बुजाले निम्न आय भएका २ जना विद्यार्थीको अभिभावकत्व ग्रहण गर्दै २५ हजार रुपैयाँबराबरको शैक्षिक सामग्री बाँडेका थिए ।


यस वर्ष पोसाक र स्टेशनगरी सामग्री पाएका छात्र विश्वास पुन र छात्रा सुबा पुनलाई कक्षा १० सम्मको पढाईमा लाग्ने खर्चसमेत व्यहोर्ने निलम र सीताले घोषणा गरेका छन् । पुरस्कार वितरणपछि भूपू गोर्खा सैनिकहरुको जीवनमा आधारित सामाजिक कथानक चलचित्र ‘मेजर पेन्सन खाउली’ प्रदर्शन गरिएको थियो । सो चलचित्रको निर्माण समाजसेवी दुत पुन, जमुना पुन र गोरे गुरुङले गरेका हुन् । चलचित्र मेजर पेन्सन खाउलीको कथा, गीतसंगीत पनि दुत पुनले नै गरेका हुन् ।