भकिम्लीका अति अशक्त नागरिकलाइ कैलास बैँकद्धारा गाउँमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण

  • १२ कार्तिक २०७५, सोमबार
  • 2137 पटक पढिएको

म्याग्दी, ११ कात्तिक । बेनी नगरपालिका – ३ भकिम्लीका अति अशक्त भएका व्यक्तिहरुलाई घरदैलोमै सामाजिक सुरक्षा भत्ता प्रदान गरिएको छ । कैलास विकास बैँक मार्फत सामाजिक सुरक्षा भक्ता वितरण हुँदै आएको यस वडामा अति अशक्त, असाह्य र अपांगता भएका लाभग्राहीलाई गाउँमै पुगेर भत्ता वितरण गरिएको हो ।

वडा कार्यालय र बैँकको समन्वयमा भत्ता बुझ्न बैँक आउन नसकेका लाभग्राहीहरुलाई भकिम्ली स्थित वडा कार्यालयबाट भत्ता उपलब्ध गराईएको बैँकका शाखा प्रवन्धक मिलन कुमार श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार, सोमबार गाउँमै पुगेर ५३ जनालाई पहिलो चौमासिकको कुल रु ५ लाख ६५ हजार सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छ ।

वडा सचिब शिब शर्मा, बैँकका शाखा प्रवन्धक श्रेष्ठ, कर्जा शाखाका श्याम थापाले सुरक्षा निकाय र जनप्रतिनिधिहरुको रोहोबरमा भत्ता वितरण गर्नुभएको थियो । अशक्तताको कारण बैँकमा पुगेर भत्ता लिन नसक्ने व्यक्तिहरु गाउँमै सुविधा पुगेपछि खुसीले हर्षित भएको वडा सचिब शर्माले बताउनुभयो ।


बैँकले आगामी दिनमा समेत अति अशक्तता रहेकाहरुलाई गाउँमै पुगेर भत्ता वितरण सेवालाई निरन्तरता दिने जनाएको छ । कैलाश विकास बैँकको देशभर ७० बढी शाखा रहेका छन् ।