पूर्व विद्यार्थी शाहीद्धारा रघुगंगा माविमा ५ लाख बढीको अक्षयकोष स्थापना

  • १२ कार्तिक २०७५, सोमबार
  • 2538 पटक पढिएको

म्याग्दी, १२ कात्तिक । म्याग्दीको रघुगंगा गाउँपालिका–३ पिप्लेमा रहेको रघुगंगा माध्यमिक विद्यालयमा एक पूर्व विद्यार्थीले रु ५ लाख बढीको अक्षयकोष स्थापना गर्नुभएको छ । सिंगापुर पुलिसबाट सेवानिवृत पिप्लेको घोटडाँडा निवासी कमल शाहीले आफ्नो दिवंगत बुबा देवबहादुर शाहीको स्मृतिमा ५ लाख ५५ हजार ५५५ रुपैयाँको अक्षयकोष स्थापना गर्नुभएको हो ।

सोमबार विद्यालयमा आयोजित एक कार्यक्रममा सहयोगदाता शाहीले विद्यालयका पूर्व शिक्षक समेत रहनुभएका आफ्ना स्वर्गीय बुबाको स्मृतिमा बार्षिक रुपमा गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्राबृत्ति प्रदान गर्ने गरि ‘देवबहादुर शाही स्मृतिकोष’ कोष घोषणा गर्नुभएको विद्यालयका प्रधानध्यापक रमेशसिंह ठकुरीले जानकारी दिनुभयो ।

सो कोषबाट प्राप्त हुने व्याज रकमबाट बार्षिक रुपमा ५० प्रतिशत छात्राबृत्ति र ५० प्रतिशत रकम विद्यालयको आन्तरिक व्यवस्थापनमा खर्च गर्ने गरि प्रबन्ध मिलाईएको सहयोगदाता शाहीले बताउनुभयो । आफुले अध्ययन गरेको र बुबाले अध्यापन गराएको विद्यालयको शैक्षिक गुणस्तर सुधारमा सहयोग पुगोस भन्ने उदेश्यले अक्षयकोष स्थापना गरिएको बताउँदै उहाँले आगामी दिनमा समेत सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता जनाउनुभयो ।

कार्यक्रममा अक्षयकोष स्थापना गर्ने सहयोगदाता शाहीलाई विद्यालयका प्रअ ठकुरी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खिमबहादुर शाही लगायतले सम्मान गर्नुभएको थियो । विव्यस अध्यक्ष शाहीको अध्यक्षता, सहयोगदाता शाहीको प्रमुख आतित्यथा, शिक्षक गणेश प्रसाद सुवेदीको स्वागत र इन्द्रदत्त सुवेदीको सञ्चालनमा सम्पन्न कार्यक्रममा प्रअ ठकुरी, समाजसेवी गुप्तबहादुर शाही लगायतले मन्तव्य राख्नुभएको थियो ।

शुन्य दरबन्दीमा मावि तह सञ्चालन हुँदै आएको यस विद्यालयले देउसी भैलो, सहयोग संकलन लगायतको माध्ययम मार्फत निजी स्रोतको खर्च जुटाउँदै आएको छ ।