‘म्याग्दी पर्यटन र जलविद्युतको खानी’

  • १२ कार्तिक २०७५, सोमबार
  • 2715 पटक पढिएको

काठमाडौ १२ कात्तिक । नेपाल उद्योग वाणिज्य महासंघका पदाधीकारीहरुले म्याग्दी पर्यटन र जलविद्युतको खानी भएको बताएका छन् । म्याग्दीमा रहेको जलविद्युत र पर्यटनको विकासमा सघाउने उनिहरुले प्रतिवद्धता जनाएका छन् । म्याग्दी भ्रमण वर्ष २०७५ को अवसरमा म्याग्दी उद्योग वाणिज्य संघले सोमबार काठमाडौमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सहभागी महासंघका पदाधीकारी र उद्योगी ब्यवसायीहरुले सम्भावनाको क्षेत्रमा लगानी गर्न इच्छुक भएको बताएका छन् ।

महासंघका उपाध्यक्ष उमेशलाल श्रेष्ठले हिमाल, नदीनाला, पहाड, जंगल, झरना तालतलैया, जनजिवन, संस्कृतिको हिसाबले म्याग्दीमा प्रशस्त सम्भावना भएको बताउनुभयो । निजी क्षेत्र र स्थानीय सरकारको अगुवाइमा सञ्चालीत म्याग्दी भ्रमण वर्षलाई महासंघले पूर्ण साथ दिने उपाध्यक्ष श्रेष्ठले बताउनुभयो ।

महासंघका पूर्व अध्यक्ष चण्डिराज ढकालले पर्यटन विकासका लागि पूर्वाधार निर्माण र प्रचारप्रसारमा जोड दिनुपर्ने बताउनुभयो । ३ नम्बर प्रदेशका संयोजक दिनेश श्रेष्ठले भ्रमण वर्षलाई सघाउन एउटा बैठक म्याग्दीमा आयोजना गर्ने जानकारी दिनुभयो । विदेशीसँगै आन्तरिक पर्यटनलाइ पनि प्राथमिकता दिनुपर्ने उहाँको सुझाव थियो ।

म्याग्दीका जिल्लाका पर्यटकीय स्थलहरु घुम्नका लागि निम्ता गर्न भ्रमण वर्षको अभियानको अगुवाइ गरेको म्याग्दी उद्योग वाणिज्य संघको आयोजनामा सोमबार काठमाडौ र काभ्रेका उद्योगी, ब्यवसायी, जनप्रतिनिधि, सञ्चारकर्मीहरुसंग अन्तरक्रिया गरीएको थियो । संघका पदाधिकारी, पर्यटन क्षेत्रमा क्रियाशील संस्थाका प्रतिनिधि र स्थानीय तहका जनप्रतिनिधिहरुको टोलीले यसअघि पाल्पा, बुटवल, भरतपुर र हेटौडामा प्रचार र अन्तरक्रिया गरेको थियो ।

म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उत्तमकुमार कर्माचार्यले हिमाल, प्राकृतिक तातातोपानीका कुण्ड, पुनहिल, घोडेपानी, मोहोरेडाँडा, खोप्रा, मालीका, टोड्के, गलेश्वर, रुइसे, जलजला, अन्धगल्छी, झरना, भालेबास्ने, निस्कोट बराह लगायत ताल तलैयाको भ्रमण गरी पर्यटन प्रर्वद्धनमा सघाउन आग्रह गर्नुभएको थियो ।

अध्यक्ष कर्माचार्यले पर्यटकीय जिल्ला मुस्ताङको प्रवेशद्धार म्याग्दीका राउण्ड धौलागिरि, अन्नपूर्ण आधार शिविर, अन्नपूर्ण धौलागिरि सामुदायिक पदमार्ग, गुरिल्ला, धौलागिरी आइसफल, धौलागिरी सेञ्चुरी, पश्चिम धौलागिरी लगायतका पदमार्गको बारेमा जानकारी गराउनुभएको थियो । गत बैशाख ३१ गते औपचारिक रुपमा म्याग्दी भ्रमण बर्षको सुरुवात गरिएको थियो । भ्रमण वर्षलाइ लक्षित गरेर बेनीको कालीपुलमा पर्यटक सूचना केन्द्र सञ्चालन, स्थानीय तह मार्फत पर्यटकीय स्थलमा पूर्वाधार निर्माण, पर्यटकीय स्थलहरुलाई समेटिएका प्रचार सामग्री प्रकाशन गरिएको संघका महासचिव लिलाराम गौतमले बताउनुभयो ।

भ्रमण वर्षको अवसरमा सदरमुकाम बेनीमा भ्रमणका लागि आउने आन्तरिक पर्यटकहरुका लागि यातायात र होटलमा छुटको ब्यवस्था मिलाइएको छ । पर्यटकीय स्थलको पहिचान गरि प्रचारप्रसार गर्ने र पूर्वाधार निर्माणमा सरकारी तथा निजी क्षेत्रको लगानी भित्र्याउन पहल गर्ने उद्देश्यले सञ्चालीत भ्रमण वर्षलाई म्याग्दीका स्थानीय तहहरुले समेत सघाएका छन् ।