धुलिखेल र बनेपामा भ्रमण वर्षको अन्तरक्रिया

  • १२ कार्तिक २०७५, सोमबार
  • 1325 पटक पढिएको

बनेपा १२ कात्तिक । म्याग्दी भ्रमण वर्ष २०७५ को प्रचार अभियान अन्तरगत सोमबार पर्यटकीय नगरी धुलीखेल र बनेपाका उद्योगी ब्यवसायीहरुसंग अन्तरक्रिया गरिएको छ । जिल्लाका पर्यटकीय स्थलहरु घुम्नका लागि पाहुना बोलाउन म्याग्दी भ्रमण वर्षको अगुवाइ गरेको उद्योग वाणिज्य संघको आयोजनामा सुरु भएको अभियान अन्तरगत धुलिखेल र काभ्रे वाणिज्य संघका पदाधीकारी, उद्योगी, ब्यवसायी र सञ्चारकर्मीहरुसँग अन्तरक्रिया गरिएको हो ।

अन्तरक्रियाका क्रममा म्याग्दीका पर्यटकीय स्थलहरुको बारेमा जानकारी गराइ भ्रमणको निम्ता गरिएको संघका प्रथम उपाध्यक्ष तथा भ्रमण वर्षका प्रचारप्रसार संयोजक सुबिन श्रेष्ठले जानकारी दिनुभयो । संघका पदाधिकारी, पर्यटन क्षेत्रमा क्रियाशील संस्थाका प्रतिनिधि, सञ्चारकर्मी र स्थानीय तहका जनप्रतिनिधिहरुको टोलीले यसअघि शनिबार पाल्पा, बुटवल, भरतपुर र हेटौडामा प्रचार र अन्तरक्रिया गरिएको संघका बरिष्ठ उपाध्यक्ष बेलबहादुर कटुवालले बताउनुभयो ।

अन्तरक्रियाका क्रममा म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उत्तमकुमार कर्माचार्यले हिमाल, प्राकृतिक तातातोपानीका कुण्ड, पुनहिल, घोडेपानी, मोहोरेडाँडा, खोप्रा, मालीका, टोड्के, गलेश्वर, रुइसे, जलजला, अन्धगल्छी, झरना, भालेबास्ने, निस्कोट बराह लगायत ताल तलैयाको भ्रमण गरी पर्यटन प्रर्वद्धनमा सघाउन आग्रह गर्नुभएको थियो ।

अध्यक्ष कर्माचार्यले पर्यटकीय जिल्ला मुस्ताङको प्रवेशद्धार म्याग्दीका राउण्ड धौलागिरि, अन्नपूर्ण आधार शिविर, अन्नपूर्ण धौलागिरि सामुदायिक पदमार्ग, गुरिल्ला, धौलागिरी आइसफल, धौलागिरी सेञ्चुरी, पश्चिम धौलागिरी लगायतका पदमार्गको बारेमा जानकारी गराउनुभएको थियो । गत बैशाख ३१ गते औपचारिक रुपमा म्याग्दी भ्रमण बर्षको सुरुवात गरिएको थियो । जिल्लामा रहेको अथाह पर्यटन सम्भावनालाई उजागर गर्दै पर्यटन आगमन बढाउनको लागि भ्रमण बर्षले सहयोग पुग्ने अपेक्षा गरिएको संघका महासचिव लिलाराम गौतमले बताउनुभयो ।

पर्यटकीय स्थलको पहिचान गरि प्रचारप्रसार गर्ने र पूर्वाधार निर्माणमा सरकारी तथा निजी क्षेत्रको लगानी भित्र्याउन पहल गर्ने उद्देश्यले सञ्चालीत भ्रमण वर्षलाई म्याग्दीका स्थानीय तहहरुको समेत साथ रहेको भ्रमणमा सहभागी मंगला गाउँपालिकाका उपाध्यक्ष सिर्जना केसीले बताउनुभयो ।प्राकृतिक, ऐतिहाँसिक, साँस्कृतिक र पौराणिक महत्वका सम्पदाको पहिचान, संरक्षण, पूर्बाधार विकास र प्रचारप्रसार गरेर स्वदेशी तथा विदेशी पर्यटक आगमन वृिद्ध गर्न भ्रमण बर्षले सहयोग पुग्ने संघका सचिव सुवर्ण रिजालले बताउनुभयो ।

अन्तरक्रियाका क्रममा धुलीखेल उद्योग वाणिज्य संघका अध्यक्ष मञ्जुकुमार कोजु, सिन्धुली उद्योग वाणिज्य संघका अध्यक्ष अमरेशचन्द्र बैदार, काभ्रे उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाशमान मानन्धरले संघका गतिबिधि, पर्यटकीय, धार्मिक स्थलका बारेमा जानकारी गराउनुभएको थियो । यसैगरी धुलीखेल नगरपालिकाका प्रथम मेयर तथा संघका संस्थापक अध्यक्ष प्रेमप्रसाद कोजु, नेपाल उद्योग वाणिज्य महासंघका सदस्य दिलसुन्दर श्रेष्ठ, नेपाल सुनचाँदी ब्यवसायी संघका उपाध्यक्ष दिनेशरत्न शाक्यले पर्यटन विकासका लागि पूर्वाधार निर्माण, समुदाय परिचालन र प्रचारप्रसारमा जोड दिनुभयो ।