बेनी बजार संरक्षणको लागि सरकारको ध्यानकर्षण गराईने

  • १२ कार्तिक २०७५, सोमबार
  • 1999 पटक पढिएको

बेनी, १२ कात्तिक । म्याग्दी जिल्ला सदरमुकाम बेनी बजार संरक्षणको लागि संघिय र गण्डगी प्रदेशको ध्यानकर्षण गराईने भएको छ । रघुगंगा र म्याग्दी नदीको कटानबाट जोखिममा परेको बेनी बजारको संरक्षणको लागि संघिय संसदका साँदस भुपेन्द्रबहादुर थापाको नेतृत्वमा डेलिगेशन जाने तयारी गरिएको हो ।

बेनी नगरपालिकाको संयोजनमा आईतवार बसेको सरोकारवलाहरुको छलफलबाट कात्तिक २७ गते डेलिगेशन जाने निर्णय भएको बेनी नगरपालिकाका प्रवक्ता रामकृष्ण बराईलीले जानकारी दिनुभयो । उहाँका अनुसार, सदरमुकाम बचाउ कार्यक्रम अन्र्तगत निर्माण भएका र निर्माणधिन संरचनाको काम र प्राविधिक पक्षबारे छानविन मार्फत कमिकमजोरी पहिचान गरि दोषि उपर कारबाहीको लागि समेत सम्बन्धित निकायमा माग गर्ने निर्णय भएको छ ।

गत भदौ २७ गते रघुगंगा र कालिगण्डकी नदीमा आएको भिषण बाढीले सदरमुकाम बेनी संरक्षणको लागि बनाईएको पक्की पर्खाल भत्काएर बजारलाई जोखिममा पारेको थियो ।

जिल्ला स्थित सरोकारवालाहरुको सहभागीता रहेको सो बैठकले बेनी बजार संरक्षणको स्विकृत गुरुयोजनालाई परिमार्जन गरि सम्भावित जोखिम न्युनिकरणको लागि थप बजेटको व्यवस्थापन गर्न संघिय र प्रदेश सभाका साँसद सहित सरोकारवालाहरुको संयुक्त टोलीले सरकारको ध्यानकर्षण गराउने निर्णय गरेको छ ।

बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठको अध्यक्षतामा बसेको सो बैठकमा प्रतिनिधि सभाका साँसद भुपेन्द्रबहादुर थापा,प्रदेश सभा साँसद विनोद केसी, जिसस प्रमुख देवेन्द्रबहादुर केसी, पूर्व सभासद गोविन्द पौडेल, नवराज पौडेल, रेशमबहादुर बानियाँ, प्रजिअ लिलाधर अधिकारी लगायत जिल्ला स्थित सरोकारवालाहरुको सहभागीता रहेको थियो ।