घुम्ने सस्कारले बढायो पर्यटक आगमन, आन्तरिक पर्यटकको चहलपहल बढ्यो

  • १२ कार्तिक २०७५, सोमबार
  • कमल खत्री
  • 3459 पटक पढिएको

बेनी, १२ कात्तिक । दशैँ र तिहार पर्वमा धर्ति छोड्नुपर्छ भनेर लिङ्गे पिङ र चमच्चा चढ्ने पुरानो मान्यता रहिआएको छ । पछिल्लो समय यिनै पर्वहरुको अवसरमा हुने फुर्सदको मौकामा आफु बस्ने ठाउँ नै छाड्नुपर्ने अर्थात नयाँ ठाउँहरुको भ्रमण गर्नुपर्छ भन्ने नयाँ प्रचलनको थालनी पनि भएको छ । यसैबेलामा विदाको फुर्सदलाई उपयोग गर्न यतिबेला मुस्ताङ भ्रमण गर्नेको घुँईचो नै लागेको छ । दशैँ र तिहारको फुर्सदको समय नयाँ र रमणीय स्थलहरुको भ्रमण गर्न यतिबेला मुलुकका विभिन्न ठाउँबाट आन्तरिक पर्यटकहरु मुस्ताङ पुग्नेक्रम जारी छ । दशैँको टिकाको भोलीपल्टदेखि बेनी–जोमसोम सडक हुँदै दैनिक ३ देखि ४ हजारको हाराहारीमा पर्यटकहरु मुस्ताङ भित्रने गरेका छन् ।


दैनिक सरदर ६ सय सवारी साधन हुँदै मुस्ताङमा पर्यटकहरुको आगमन हुन थालेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक महेन्द्र खड्काले जानकारी दिनुभयो । ‘‘ मोटरसाईकल देखि बस, जिप, कार लगायतका सवारी साधनबाट ३ हजार बढी पर्यटक भित्रन्छन्, हवाईमार्गबाट १ सय बढी आउने गरेका छन्, दशैँदेखि मुस्ताङ पर्यटकमय बनेको छ’’–प्रनाउ खड्काले भन्नुभयो । दशैँ अघि शोह्रश्रादमा कागबेनी र मुक्तिनाथमा भक्तालुहरुको भिड लागेको थियो ।
दशैँको टिकापछि मुस्ताङको हिमाली मरुभुमि, मनोरम हिमशृङ्खला, तिब्बती र थकाली कला संस्कृतिको अवलोकनको लागि आउने आन्तरिक पर्यटकहरुमध्ये अधिकाँश युवायुवतीहरु रहेका छन् ।

काठमाण्डौबाट मोटरसाईकल हुँदै मुस्ताङ भ्रमणमा आएका महेश श्रेष्ठले यस दशैँको विदालाई नयाँ ठाउँको भ्रमण गरि विताउने योजना अनुसार भ्रमणमा आएको बताउनुभयो । ‘‘ विदाको समय कहाँ के गरौँ भन्ने थियो, साथिहरुले मुस्ताङ जाउँ भने, यहाँको अनौठो प्राकृतिक सौन्दर्यताले लोभ्यायो, केही बर्षपछि फेरी आउने निथो गरेको छु’’– श्रेष्ठले भन्नुभयो । मुस्ताङमा भित्रिएका आन्तरिक पर्यटकहरुको यो भिडले यातयातको सुविधा र पर्यटकीय क्षेत्रहरुको प्रचार प्रसार हुन सक्यो भने बाह्य मात्रै नभएर आन्तरिक पर्यटकहरुकै कारण पनि स्थानीयको आयआर्जनमा सुधार ल्याउन सकिन्छ भन्ने भनाईलाई पुष्टि गरेको छ ।


मुस्ताङ भित्रिएका पर्यटकहरु अधिकाँश जोमजोम, बागबेनी, ठिनी, धुम्बा ताल, स्याउ बगैँचा, मुक्तिनाथ लगायतका ठाउँको भ्रमण गरि फर्कने गरेका छन भने १५ प्रतिशत पर्यटकहरु माटोको सहरले चिनिने लोमान्थाङ हुँदै कोरला नाका सम्मै पुग्ने गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।पर्यटकको आवागमन बढेपछि घाँसा देखि कागबेनी, मुक्तिनाथ, लोमान्थाङ लगायतका ठाउँमा सञ्चालित होटल तथा लजहरु भरिभराउ भएका छन् । मुस्ताङभित्र रहेका २ सय ५० वटा बढी होटल तथा लजमध्ये अधिकांश होटल हरेक दिन भरिभराउ हुने गरेका छन् । आन्तरिक पर्यटकहरुको फलो अहिलेसम्मकै ठुलो रहेकाले होटलहरुले पर्यटकहरुलाई खचाखच राख्नुपर्ने अबस्था आएको मुस्ताङ उद्योग बाणिज्य संघका अध्यक्ष खगेन्द्र तुलाचनले जानकारी दिनुभयो ।

मुस्ताङमा अहिले दैनिक २ सयको हाराहारीमा बाह्य पर्यटकहरुको आगमन हुने गरेको छ । यतिबेला मुस्ताङमा पुग्ने आन्तरिक पर्यटकहरु मध्ये धेरैजसो आफ्नो परिवार, साथिभाई, कलेज तथा विद्यालयका विद्यार्थी, संघ संस्थाको समुह, चाडपर्वको विदा मनाउन घर फर्किएका प्रवासीहरु छन् । गाडी र मोटरसाईकल हुँदै पोखरातीरबाट धौलागिरि छिरेका आन्तरिक पर्यटकहरुले गन्तव्य मुस्ताङ बनाउने भएपनि पर्वतको कुश्मा, बागलुङ र म्याग्दीको बेनीमा समेत चहलपहल बढाएका छन् ।यहाँका होटलहरुमा समेत अहिले आन्तरिक पर्यटकहरुको चाप बढेको छ ।

कुश्मामा रहेको अग्ला र लामा झोलुङे पुल, यात्रिक पुल, गुप्तेश्वर गुफा, बागलुङको कालिका मन्दिर, पञ्चकोट, म्याग्दीको बेनी स्थित लभ्लिहिल, गलेश्वरधाम, तातोपानी कुण्ड, अन्ध गल्छी, रुप्से झरना, पुनहिल, खोप्रालेक, रुइसे, टोड्के लगायतका पर्यटकीय स्थलहरु समेत आन्तरिक पर्यटकहरुको रोजाईमा पर्न थालेको छ । सडकमा यातयात व्यवसायिहरुको एकाधिकार (सिन्डीकेट) तोडिएपछि मुस्ताङ भ्रमण गर्ने आन्तरिक पर्यटकहरुको ओइरो लागेको हो । केही बर्ष अघिसम्म विदेशी पर्यटकहरु मात्रै घुम्ने थलोको रुपमा परिचित मुस्ताङमा हरेक बर्ष भ्रमणमा आउने आन्तरिक पर्यटकहरुको संख्या बढ्दै गएको मुस्ताङ उद्योग बाणिज्य संघका अध्यक्ष खगेन्द्र तुलाचन बताउँछन् ।

पर्यटकहरुको चापले होटलहरु भरिभराउ हुन थालेपछि मुस्ताङमा पुगेका कतिपय पर्यटकहरुले बस भित्रै बास बस्नुपर्ने अबस्था आएको छ । दैनिक हजारौँ पर्यटक भित्रन थालेपछि होटलहरु भरिभरा हुँदा अग्रिम बुकिङ नगरि भ्रमणमा जाने पर्यटकहरुले बास बस्न नपाउने समस्या देखिएको हो । होटल र लजको क्षमता भन्दा बढी पर्यटक भित्रदा चिया पसलहरुमा समेत पर्यटकहरु बास बस्नुपर्ने अबस्था आएको छ । मुस्ताङ उद्योग बाणिज्य संघले भ्रमणमा आउने पर्यटकलाई होटलहरुको अग्रीम बुकिङ गरेर मात्रै भ्रमणमा आउन आग्रह गरेको छ ।

सवारी चापले सडकमा जाम
मुस्ताङ भ्रमणमा आउने पर्यटकका सवारीसाधनको चाप बढेपछि बेनी–जोमसोम सडकमा घन्टौं ट्राफिक जाम हुने समस्या देखिएको छ । कालिगण्डकी नदीको किनारै किनार ट्याक निर्माण भएको यस सडक साँघुरो र स्तरबृद्धिको कामले पुर्णता नपाएको कारण सवारी साधनको जाम हुने गरेको हो । दैनिक ५ सयको हाराहारीमा सवारी साधन भित्रने र सोही संख्यामा बाहिरिने गरेको र सडक साँघुरो भएकाले दोहोरो वारपार हुन नसकेर पर्यटकहरुले ट्राफिक जामको समस्या झेल्नुपरेको मुस्ताङका प्रनाउ महेन्द्र खड्काले जानकारी दिनुभयो ।

बेगखोला, भीरकाटे, तातोपानी, दानाको रुप्से छहरा, र बाँदरजुँग भीर क्षेत्रमा सवारी चापले सडक लामो समयसम्म जाम हुने गरेको दानाका पर्यटन व्यवसायि इन्द्रसिंह शेरचनले जानकारी दिनुभयो ।

कमल खत्री

म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l