म्याग्दीमा ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रम शुभारम्भ

  • ११ कार्तिक २०७५, आईतवार
  • 1979 पटक पढिएको

म्याग्दी, ११ कात्तिक । ‘हर प्रहर गाउँ र नगरी, टोलटोलमा नेपाल प्रहरी’ भन्ने मूल नारासाथ म्याग्दीमा नेपाल प्रहरीको ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रमको शुभारम्भ गरिएको छ । शान्तिसुरक्षा, समृद्धि र स्थायित्वका लागि नेपाल प्रहरीले ल्याएको सो कार्यक्रमलाई प्रभाबकारी बनाउँदै शान्ति सुरक्षालाई मजबुत र बलियो बनाउन म्याग्दीका ६ वटै स्थानीय तहका प्रमुखहरुले प्रतिशद्धता जनाएका छन् । अभियानको सुभारम्भ कार्यक्रममा आईतवार यहाँका सबै स्थानीय तहका प्रमुखहरुले समुदाय–प्रहरी साझेदारीको समझदारी पत्रमा हस्ताक्षर गरेका छन् ।

कार्यक्रममा प्रनाउ बीरबहादुर बुढा मगर र बेनी नगरपालीकाका मेयर हरिकुमार श्रेष्ठ, रघुगंगाका अध्यक्ष भव बहादुर भण्डारी, अन्नपूर्णका अध्यक्ष क्याप्टेन डमबहादुर पुन, मंगलाका अध्यक्ष सतप्रसाद रोका, मालिकाका अध्यक्ष श्रीप्रसाद रोका र धौलागिरिका अध्यक्ष थमसरा पुनले हस्ताक्षर गर्नुभएको थियो ।कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्र बहादुर केसीले जिल्लाको शान्ति सुरक्षालाई मजबुत बनाउँदै जनताको घरदैलो सम्म प्रहरीको उपस्थिति बढाउन अभियानले सहयोग पुग्ने बताउनुभयो । उहाँले समाजमा घट्ने हरेक घटनाको अनुसंधानमा प्रहरीलाई आम नागरिकले सकरात्मक सहयोग गर्नुपर्ने बताउँदै प्रहरी र नागरिकको सम्बन्ध नजीक भएमा मात्रै शान्ति सुरक्षा थप बलियो बन्ने धारणा राख्नुभयो ।

कार्यक्रममा बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठले स्थानीय तहले आफुले पाएको अधिकार क्षेत्रमा रहेर शान्ति सुरक्षा बलियो बनाउन हर समय सहयोग गर्न तयार रहेको प्रतिबद्धता जनाउनुभएको थियो । प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले स्थानीय तहमा न्यानिक समितीलाई समेत प्रहरीको समुदाय साझदार कार्यक्रमले सहयोग पुग्ने धारण राख्नुभयो । समाजमा शान्ति सुरक्षामा समुदायसँग समन्वय बढाउनको लागि स्थानीय तह, समुदाय र सरोकारवालाहरु साझेदारी रहने गरि अभियान सञ्चालन भएको प्रहरी नायब उपरिक्षक बीरबहादुर बुढामगरले जानकारी दिनुभयो । अभियान अन्र्तगत गाउँतहसम्मै साझेदारी संरचना निर्माण गरि अपराध रोकथाम, समुदाय सुरक्षा र सचेतना, शान्ति र सुव्यवस्था, विद्यालय सचेतनासहित समुदाय केन्द्रित कार्यक्रम सञ्चालन गरिने प्रनाउ बुढामगरले बताउनुभयो ।

अभियान सफल पार्न टोलटोलमा प्रहरी, नागरिकमैत्री प्रहरी सेवा, समुदाय र विद्यालय सचेतना कार्यक्रम एकसाथ चलाइनेछ । स्थानीय तहसँगको समन्वयमा विद्यालयमा समेत सामुदायिक सुरक्षा पाठ्यक्रम बनाएर लागू गरिनेछ । देशभर एकैसाथ सुरु भएको यस कार्यक्रममा दश हजार सामाजिक संस्था, ७५ लाख विद्यार्थी, ३६ हजार विद्यालय, चार लाख शिक्षक, ७५ हजार प्रहरी र ४० लाख अभिभावक प्रत्यक्ष संलग्न गराइने जनाइएको छ । जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्र केसीको प्रमुख आतिथ्यता,प्रहरी निरिक्षक लोक गुरुङ्गको समापन मन्तव्य र प्रहरी निरिक्षक दिपक थापाको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको छ ।