म्याग्दी भ्रमण वर्षको प्रचार टोली हेटौडामा

  • ११ कार्तिक २०७५, आईतवार
  • 1875 पटक पढिएको

हेटौडा ११ कात्तिक । म्याग्दी भ्रमण वर्ष २०७५ को प्रचार अभियान अन्तरगत आइतबार प्रदेश ३ को अस्थाई राजधानी हेटौडामा मकवानपुरका उद्योगी ब्यवसायीहरुसंग अन्तरक्रिया गरिएको छ ।
जिल्लाका पर्यटकीय स्थलहरु घुम्नका लागि पाहुना बोलाउन म्याग्दी भ्रमण वर्षको अगुवाइ गरेको उद्योग वाणिज्य संघको आयोजनामा सुरु भएको अभियान अन्तरगत मकवानपुर उद्योग वाणिज्य संघका पदाधीकारी, उद्योगी, ब्यवसायी र सञ्चारकर्मीहरुसँग अन्तरक्रिया गरिएको हो ।


अन्तरक्रियाका क्रममा म्याग्दीका पर्यटकीय स्थलहरुको बारेमा जानकारी गराइ भ्रमणको निम्ता गरिएको संघका प्रथम उपाध्यक्ष तथा भ्रमण वर्षका प्रचारप्रसार संयोजक सुबिन श्रेष्ठले जानकारी दिनुभयो । संघका पदाधिकारी, पर्यटन क्षेत्रमा क्रियाशील संस्थाका प्रतिनिधि, सञ्चारकर्मी र स्थानीय तहका जनप्रतिनिधिहरुको टोलीले यसअघि शनिबार पाल्पा, बुटवल र भरतपुरमा प्रचार र अन्तरक्रिया गरिएको संघका बरिष्ठ उपाध्यक्ष बेलबहादुर कटुवालले बताउनुभयो ।

अन्तरक्रियाका क्रममा म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उत्तमकुमार कर्माचार्यले हिमाल, प्राकृतिक तातातोपानीका कुण्ड, पुनहिल, घोडेपानी, मोहोरेडाँडा, खोप्रा, मालीका, टोड्के, गलेश्वर, रुइसे, जलजला, अन्धगल्छी, झरना, भालेबास्ने, निस्कोट बराह लगायत ताल तलैयाको भ्रमण गरी पर्यटन प्रर्वद्धनमा सघाउन आग्रह गर्नुभएको थियो ।

अध्यक्ष कर्माचार्यले पर्यटकीय जिल्ला मुस्ताङको प्रवेशद्धार म्याग्दीका राउण्ड धौलागिरि, अन्नपूर्ण आधार शिविर, अन्नपूर्ण धौलागिरि सामुदायिक पदमार्ग, गुरिल्ला, धौलागिरी आइसफल, धौलागिरी सेञ्चुरी, पश्चिम धौलागिरी लगायतका पदमार्गको बारेमा जानकारी गराउनुभएको थियो । गत बैशाख ३१ गते औपचारिक रुपमा म्याग्दी भ्रमण बर्षको सुरुवात गरिएको थियो । जिल्लामा रहेको अथाह पर्यटन सम्भावनालाई उजागर गर्दै पर्यटन आगमन बढाउनको लागि भ्रमण बर्षले सहयोग पुग्ने अपेक्षा गरिएको संघका महासचिव लिलाराम गौतमले बताउनुभयो ।

आन्तरीक पर्यटन प्रर्वद्धनमा निजी क्षेत्रबीच सहकार्यमा सहभागीले जोड दिएका थिए । आर्थिक विकासका लागि आन्तरिक पर्यटन प्रर्वद्धनको आवश्यकता रहेको बताउँदै पर्यटकीय स्थलहरुको प्रचारप्रसार र पूर्वाधार विकासमा राज्यले सघाउनुपर्ने सहभागीको भनाई थियो । निजी क्षेत्रका सामाजिक गतिबिधि र उद्योग ब्यवसायको विषयमा अनुभव आदानप्रदान समेत गरिएको थियो ।

पर्यटकीय स्थलको पहिचान गरि प्रचारप्रसार गर्ने र पूर्वाधार निर्माणमा सरकारी तथा निजी क्षेत्रको लगानी भित्र्याउन पहल गर्ने उद्देश्यले सञ्चालीत भ्रमण वर्षलाई म्याग्दीका स्थानीय तहहरुको समेत साथ रहेको भ्रमणमा सहभागी मंगला गाउँपालिकाका उपाध्यक्ष सिर्जना केसीले बताउनुभयो ।
प्राकृतिक, ऐतिहाँसिक, साँस्कृतिक र पौराणिक महत्वका सम्पदाको पहिचान, संरक्षण, पूर्बाधार विकास र प्रचारप्रसार गरेर स्वदेशी तथा विदेशी पर्यटक आगमन वृिद्ध गर्न भ्रमण बर्षले सहयोग पुग्ने संघका सचिव सुवर्ण रिजालले बताउनुभयो ।

मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कटुवालले संघका गतिबिधि, धार्मिक, पर्यटकीय स्थल, आर्थिक गतिबिधि र निजी क्षेत्रका समस्याका बारेमा जानकारी गराउनुभएको थियो ।