ढिलासुस्ती गरेपछि ठेक्का सम्झौता तोडीयो

  • ११ कार्तिक २०७५, आईतवार
  • 2393 पटक पढिएको

म्याग्दी ११ कात्तिक । अठार महिनामा सकिनुपर्ने भवन निर्माणको काम आठ वर्षसम्म पुरा गर्न नसकेपछि म्याग्दीमा सञ्चालित रघुगंगा जलविद्युत आयोजनाले निर्माण ब्यवसायीसंग भएको ठेक्का तोडेको छ ।

पत्र र मौखिक रुपमा पटक–पटक ताकेता र म्याद थप गर्दा समेत ढिलासुस्ती गरेकाले ठेकेदार कम्पनी गोर्खा कन्ट्रक्सन एण्ड स्वच्छन्द जेभीसंग भएको सम्झौता रद्द गरीएको रघुगंगा हाइड्रोका प्रबन्ध सञ्चालक श्रीराम पाण्डेले जानकारी दिए । पुरानो सम्झौता रद्द भएपछि बाँकी काम नयाँ प्रक्रियाबाट पुरा गरिने उनले बताए ।

४० मेगावाट क्षमताको रघुगंगा जलविद्युत आयोजनाको कार्यालय र कर्मचारी आवासको लागि रघुगंगा गाउँपालिका ३ पिप्लेमा अठार महिनामा १० वटा भवन बनाउन कम्पनीसंग विद्युत प्राधिकरणले ११ करोड १० लाख ६७ हजार रुपैयामा ठेक्का सम्झौता गरेको थियो ।

२०६७ कात्तिक ४ गते ठेक्का सम्झौता गरेको ठेकेदार कम्पनीले हालसम्म चार वटा भवन बनाएर आयोजनाको प्रर्वद्धक प्राधिकरणको सहायक कम्पनी रघुगंगा हाइड्रोलाई बुझाए पनि एउटा भवनको जग समेत हालेको छैन् ।ठेकेदारको चरम ढिलासुस्ती र लापरबाहीका कारण अन्य भवनहरु अलपत्र अवस्थामा रहेका रघुगंगा गाउँपालिका ३ का वडा अध्यक्ष जिवन मल्लले बताए । भवन निर्माण पुरा नहुदै जिर्ण र थोत्रीन थालेपछि स्थानीयबासी, सरोकारवाला र जनप्रतीनिधिहरुले दवाव दिएका थिए । ठेकेदारले ढलान गरेर भवन ठडाएपनि पलास्टर, रंगरोगन, विद्युत, खानेपानी जडान गर्न बाँकी छ ।