रघुगंगामा योजना कार्यान्वयनको तयारी

  • १० कार्तिक २०७५, शनिबार
  • 2629 पटक पढिएको

बेनी १० कात्तिक । म्याग्दीको रघुगंगा गाउँपालिकाले चालु आर्थिक वर्ष २०७५÷७६ का लागि बजेट बिनियोजन गरेको योजना तथा कार्यान्वयनको तयारी गरेको छ । बस्ती स्तरमा आमभेला गरि उपभोक्ता समिति गठनलाई तिब्रता दिनुका साथै योजना कार्यान्वयनलाई प्रभावकारी बनाउन अनुशिक्षण कार्यक्रम सञ्चालन गरेको छ ।

वडा न. ५ झिँमा गठन भएका उपभोक्ता समितिका पदाधीकारी र सरोकारवालाहरुका लागि शुक्रबार तालीम दिइएको छ । उपभोक्ता समितिको काम कर्तब्य र अधिकार, सम्झौता, कार्यान्वयन, प्राबिधिक लगत तयार, जनसहभागिताको आवश्यकता, योजना फरफारक गर्ने प्रक्रिया, कानुनी तथा नितीगत ब्यवस्थाका विषयमा तालीम दिइएको हो ।

गाउँपालिकाका सबै वडाका उपभोक्तालाई तालिम दिएर योजना कार्यान्वयन अघि बढाइने योजना शाखाका प्रमुख दयाराम पौडेलले जानकारी दिनुभयो । तालिममा गाउँपालिकाका अध्यक्ष भबबहादुर भण्डारीले योजनालाई प्रभावकारी र पारदर्शी बनाउन उपभोक्ता समिति सक्रियता र समुदायको सहभागिताको आवश्यकता रहेको बताउनुभयो ।

प्रमुख प्रशासकीय अधिकृत रमेश थापा, योजना शाखाका प्रमुख पौडेल, लेखा शाखा प्रमुख त्रिबिक्रम शर्मा, प्राबिधिक शाखा प्रमुख कमल चोखालले तालिमको सहजिकरण गर्नुभएको थियो । रघुगंगा गाउँपालिकाले असारे विकासको विकृती न्युनीकरणका लागि चैत अघिनै योजना सम्पन्न गर्ने लक्ष्य लिएको छ ।