दुर्गम बस्ती चेचुङ्गमा सौर्य उर्जाबाट बिजुली पुगेपछी स्थानीयमा खुसीयाली
- ८ कार्तिक २०७५, बिहीबार
- 2577 पटक पढिएको
म्याग्दी ८ कात्तिक । म्याग्दीको धवलागिरि गाउँपालिका– ४ मा पर्ने विकट बस्ती चेचुङ्ग गाउँमा सौर्य उर्जाको माध्ययमबाट विद्युतको सुविधा विस्तार गरिएको छ । सोलार मार्फत गाउँमा बिजुली बत्तिको सुविधा पुगेपछि चेचुङबासीमा खुसीयाली छाएको छ । बिस घरधुरीको बसोबास रहेको यहाँ अमेरीकाको फाइर गिभ संस्थाको सहयोगमा छ किलोवाट क्षमताको सौर्य उर्जा जडान गरेर विद्युत सुबिधा पु¥याइएको स्थानीय लोकबहादुर मगरले जानकारी दिए । एउटै सोलार प्यानल मार्फत घरघरमा बिजुली बत्तिको सुविधा पु¥याएको छ ।
सो सौर्य उर्जा मार्फत कुटानी पिसानी मिल समेत सञ्चालन भएपछि स्थानीयबासी हर्षित भएको मगरले बताए । कुटानी पिसानी मिल समेत सञ्चालन भएकाले गहुँ, मकै, कोदा पिस्नका लागि डेढ घण्टा हिडेर छिमेकी गाउँ खिबाङ जानुपर्ने झण्झटबाट स्थानीयले मुक्ति पाएका छन् ।
यस अघि टुकीको भरमा दैनिकी चलाउँदै आएका स्थानीयबासी सोलार मार्फत बिजुलीको सुविधा पुगेपछि घरमै मोवाईल चार्ज गर्ने देखि रातमा बालबालिकाहरुलाई उज्यालोमा पठनपाठन गराउन पाउने सुविधा पाएका छन् ।
सौर्य उर्जा जडान गर्न संस्थाले बीस लाख रुपैया भन्दा बढी सहयोग गरेको समन्वयकर्ता चित्र तिलीजा पुनले जानकारी दिए । कुटानी, पिसानी मिल र सोलार प्यानल राख्ने घर निर्माणका लागि बिस घरधुरीले पन्ध्र दिनका दरले श्रमदान गरेर भवन बनाएका छन् ।
अहिले चेचुङका प्रत्येक घरमा चार वटा बल्ब जडान गरिएको छ । दुर्गम भएकाले तत्कालै केन्द्रीय लाइन पुग्ने सम्भावना नरहेको अबस्थामा सौर्य उर्जा परियोजनाले स्थानीयबासीलाई बिजुलीको सुविधा उपभोग गर्ने अवसर सिर्जना भएको गाउँपालिकाका अध्यक्ष थमसरा पुनले बताईन् ।
सहयोगी संस्थाका एडी र रेविटले बुधबार आयोजित उद्घाटन कार्यक्रममा सौर्य उर्जा परियोजना गाउँपालिकाका अध्यक्ष पुनलाई हस्तान्तरण गरेका छन् । यस गाउँपालिकाको वडा नम्बर ७ धारापानीमा हालै केन्द्रिय प्रशारण लाईनको विद्युत सुविधा पुगेपनि अन्य सबै वडाहरुमा लघुजलविद्यूत र सौर्य उर्जाकै भरमा स्थानीयले बिजुली बक्ति बाल्दै आएका छन् ।