बालगृहको भवन जिर्ण

  • ८ कार्तिक २०७५, बिहीबार
  • सन्तोष गौतम
  • 1579 पटक पढिएको


बेनी ८ कात्तिक । बेनी स्थित म्याग्दी बालगृहको भवन जिर्ण बनेको छ । नेपाल बाल संगठनद्धारा सञ्चालीत बालगृहको पैतालीस वर्ष पुरानो भवनलाई तीन वर्ष अघिको भुकम्पले जिर्ण बनाएको थियो ।काठ, ढुङ्गा र सिमेन्टको प्रयोग गरेर बनाइएको भवनका पर्खाल चर्कीएको नेपाल बाल संगठनका कोषाध्यक्ष ज्ञानेन्द्र श्रेष्ठले बताए । बालगृहमा हाल १२ जना अनाथ बालबालिका आश्रित छन् ।

भवन पुननिर्माणका लागि नक्सा तयार पारिएको छ । बेनी नगरपालिकाले भवन पुननिर्माणका लागि चालु आर्थिक वर्षमा पाँच लाख रुपैया बिनियोजन गरेको छ । एक तले भवन निर्माणका लागि पैतीस लाख र दुई तले बनाउन पचपन्न देखि साठी लाख रुपैया लागत अनुमान गरिएको संगठनका सभापति नेत्रबहादुर महतले बताएका थिए ।

बाल संगठनका पूर्व सभापति समेत रहनुभएका बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठको अध्यक्षतामा बुधबार बसेको बैठकले भवन पुननिर्माणका लागि दाताहरुलाई सहयोगको अपिल गर्ने निर्णय गरेको छ ।

बालगृहको क्षमत्ता बढाएर २५ देखि ३० जनाको बनाउने योजना बनाइएको छ । यसैगरी संगठनको रिक्त उपसभापतिमा बिजयकुमार श्रेष्ठ र सचिवमा ज्ञान गिरीलाई चयन गरिएको छ ।

सन्तोष गौतम