मुटुरोग पिडित सपनालाई मिजार समाजद्धारा आर्थिक सहयोग

  • ७ कार्तिक २०७५, बुधबार
  • 2218 पटक पढिएको

बेनी, ७ कात्तिक । मुटु,पित्त र कलेजोमा गम्भिर समस्याबाट पिडित भई उपचाररत बेनी नगरपालिका–९ की सपना मिजारलाई आर्थिक सहयोग प्राप्त भएको छ । शहिद गंगालाल अस्पतालमा मुटु र पित्त तथा टिचिङ अस्पतालमा कलोजोको सल्यक्रिया पश्चात नियमित अस्पतालको सम्पर्कमा रहेर उपचार गराईरहेकी १३ बर्षिया मिजारको उपचारमा सहयोग पुगोस भन्ने उदेश्यले मिजार समाज म्याग्दीले रु २० हजार १५५ आर्थिक सहयोग गरेको हो ।

बुधवार बेनीमा आयोजित एक कार्यक्रममा समाजका अध्यक्ष सुकलाल किसानले पिडित सपना र उनका आमा नैना मिजारलाई सो सहयोग हस्तान्तरण गर्नुभएको थियो । आर्थिक रुपमा विपन्न रहेको सापत, आफन्तको सहयोग र चन्दा संकलन गरि अप्रेशन भएपनि नियमित रुपमा अस्पतालमा पुगेर उपचार गरिरहनुपर्ने भएकाले राहतको लागि सहयोग गरिएको अध्यक्ष किसानले बताउनुभयो ।
सहयोग हस्तान्तरण कार्यक्रममा मिजार समाजका उपाध्यक्ष गोमा किसान, पूर्व अध्यक्ष मनबहादुर चर्माकार, सचिब सज्जन बोहोरा, सदस्य दिलगोपाल सिके, अमर किसान, स्याना नेपाली लगायतको उपस्थिति रहेको थियो । घरमुली बुबाको निधन भएको र आमा समेत अपांगता रहेको र सपनाको नियमित उपचारमा समेत आर्थिक अभाब देखिएकाले सहयोगको लागि समाजले आह्वान समेत गरेको छ ।
सपना घरपरिवारकी जेठी छोरी हुन। उनका दुई भाई समेत छन् । अप्रेशन पश्चान उनको अबस्था सामान्य रहेपनि एक बर्षसम्म हरेक महिना अस्पतालमा पुगेर उपचार गराउनुपर्ने सल्लाह चिकित्सकहरुले दिएको सपनाकी आमा नैना मिजारले बताउनुभयो । उहाँका अनुसार, शहिद गंगालाल अस्पतालमा मुटु र पित्तको अप्रेशन निशुल्क भएपनि टिचिङ अस्पतालमा कलोजोको अप्रेशन सहित सपनाको उपचारमा अहिलेसम्म साढे ४ लाख बढी खर्च भैसकेको छ ।