बेनी–मल्लाज पदमार्गले जोडियो

  • ७ कार्तिक २०७५, बुधबार
  • सन्तोष गौतम
  • 2103 पटक पढिएको

बेनी ७ कात्तिक । म्याग्दीको सदरमुकाम बेनीको कालीपुल देखि पर्वतको जलजला गाउँपालिकाको मल्लाज पक्कि पदमार्गले जोडिएको छ । ठाडो भीरको उकालोमा सिढी र रेलिङ सहितको पदमार्ग बनेपछि स्थानीयबासीलाई आवत जावतमा सहज हुनुका साथै पर्यटन विकासमा सघाउ पुगेको छ । विकास नेपाल बेल्जियमको आर्थिक सहयोगमा कालीपुल देखि डिलफाँट हुदै मल्लाजको ऐतिहाँसिक धार्मिक पर्यटकीय स्थल भगवती कोत मन्दिर परिसरसम्म करिब दुई किलोमिटर पदमार्ग निर्माण भएको हो ।

पाँच वर्षअघि कालीपुलदेखि सुरु भएको पदमार्ग निर्माणले यस वर्ष पूर्णता पाएको डिलफाँट–कोतघर पदमार्ग उपभोक्ता समितिका अध्यक्ष टेकबहादुर बरुवालले बताउनभुयो । तीन चरणमा ८६ लाख नौ हजार २५२ रुपैयाको लागतमा एक हजार ९५२ मिटर पक्कि पदमार्ग निर्माण भएको अध्यक्ष बरुवालले जानकारी दिनुभयो ।

संस्थाको ५९ लाख ८६ हजार ३५२ रुपैयाँ सहयोग र स्थानीयबासीको १७ लाख ३३ हजार ७७७ रुपैयाको लागतमा तीन वर्षअघि कालीपुल देखि डिलफाँटसम्म पदमार्ग निर्माण भएको थियो । म्याग्दीको ताकम घर भई हाल बेल्जियममा रहनुभएका ज्ञानबहादुर विश्वकर्माको पहलमा यो योजना भित्रीएको थियो ।
कालीपुल देखि डिलफाट जोड्ने पदमार्ग रामबहादुर विश्वकर्माको अध्यक्षतामा गठन भएको उपभोक्ता समितिले बनाएको थियो । यस वर्ष संस्थाको थप छ लाख ३३ हजार र स्थानीयबासीको दुई लाख ७६ हजार ७५१ रुपैयाको लगानीमा तीन सय मिटर पदमार्ग बनाएर कोतघर परिसरमा पु¥याइएको हो ।

साविक माझफाँट गाविस र वडाले पनि डिलफाँटदेखि कोतघरतर्फ तीन सय मिटर पदमार्ग निर्माण गरेका थिए । पदमार्ग निर्माण भएपछि बेनी बजारका साथै बगरफाँट वारिवेनी, जलजला गाउँपालिकाको बाँसखर्क, मल्लाज, लेकफाँट, म्याग्दीको नागीका बासिन्दाहरुलाई आवत जावतमा सहज भएको छ ।
यसअघि भिरको साँघुरो बाटोमा जोखिम मालेर आवत जावत गर्दै आएका स्थानीयबासीन्दाहरुले अहिले सुरक्षित रुपमा हिडडुल गर्न पाएको मल्लाजका नविन जिसीले बताउनुभयो ।

‘यो पदमार्गलाई पर्यटन प्रर्वद्धनका लागि समेत उपयोग गर्न सकिने सम्भावना छ’ वडा अध्यक्ष रवी भण्डारीले भन्नुभयो ‘बेनी र मुस्ताङ जाने आउने पर्यटक तथा तिर्थयात्रीहरुलाई यही पदमार्ग भएर मल्लाजमा भित्र्याउने योजना छ ।’ पदमार्ग उद्घाटनका लागि गत हप्ता मल्लाज आएकी विकास नेपाल बेल्जीयमकी अध्यक्ष मौरिक्सले ग्रामिण क्षेत्रका बासिन्दालाई पुगेको सुबिधाबाट उत्साहीत र खुसी भएको प्रतिक्रिया दिनुभयो ।

सन्तोष गौतम